काठमाडौं । स्विटजरल्यान्डमा चोरहरूले देशको सबैभन्दा चुनौतीपूर्ण संरक्षित क्षेत्रमा लुटपाट गरेपछि त्यसले धेरैलाई आश्चर्यमा पारिदिएको छ। उनीहरू २,३५० मिटर उचाइमा चढेका थिए र पातला स्टिलका तारहरूहुँदै खोँच पार गरेर चन्दा रकम राखिएको एउटा बाकसबाट रकम लुटेका थिए। उक्त बाकस एउटा स्थानीय आरोहण क्लबको हो। सो क्लबले स्विटजरल्यान्डको सबैभन्दा लामो संरक्षित आरोहण मार्ग गेम्मी पासको व्यवस्थापन गर्छ। सो पास लोएकरबाट गाउँभन्दा माथि रहेको छ।
आश्चर्यमा पार्ने कुरा के हो भने त्यो चन्दा बाकस सबैभन्दा अनुभवी आरोहीहरूको मात्रै पहुँचमा रहेको थियो। भिया फराटा भनिने उक्त रुटलाई पाचौँ श्रेणीको मार्गका रूपमा वर्गीकरण गरिएको छ जुन अत्यधिक अप्ठेरो हुने गर्छ। गम्भीर खालको आरोहण गर्ने क्रममा ठाडो चट्टान चढ्दै पातलो स्टिलका तारहरूलाई पक्रिएर खोँचहरू पार गर्नुपर्छ। “यी कस्ता खालका मानिसहरू हुन्रु” उक्त आरोहण क्लबले आफ्नो फेसबुक पेजमा लेखेको छ।
“यो आरोहण क्लबले बिना तलब भिया फराटालाई हेरविचार गर्ने गर्छ। हामी केही पनि माग्दैनौँ र अहिले कसैले यसको व्यवस्थापनका लागि दिइएको चन्दा रकम चोरिदिएको छ।” उक्त चोरीलाई सुरुमा थाह पाएका व्यक्तिहरूले यसलाई सुरुमै सोचविचारपूर्वक योजना गरेर चालिएको कदमका रूपमा उल्लेख गरिएको छ।
ती चोरहरू सिपालु आरोहीहरू मात्रै नभई उनीहरूसँग आरोहण सामाग्रीहरू पनि थियो। उक्त क्लबका अनुसार उनीहरूले चन्दा बाकसलाई ‘बल प्रयोग गरेर खोल्न’ का लागि आवश्यक पर्ने साधनहरू पनि लिएर आएका थिए। सबैलाई छक्क पार्ने गरी उनीहरूले त्यसपछि लुटेको रकमसहित आफ्नो आरोहणलाई निरन्तरता दिए। उनीहरू २,९४१ मिटर अग्लो डाबरहोर्न पर्वतको चुचुरोमा पुगेका थिए।
यो अपराध कसले गर्यो ठ्याक्कै पत्ता लगाउन कठिन हुनसक्ने देखिन्छ। पछिल्ला केही दिनको मौसम आरोहणका लागि एकदमै उपयुक्त थियो र धेरै आरोहीहरू भिया फराटामा रमाइरहेका थिए। उक्त आरोहण क्लब ठ्याक्कै कति रकम चोरियो भन्नेमा प्रस्ट छैन्। तर क्लबका सदस्य एवं पर्वतारोहण पथ प्रदर्शक रिचर्ड वर्लिनले बीबीसीलाई त्यहाँ ४०० देखि ५०० स्विस फ्रयाङ्क (६० हजारदेखी ७५ हजार रुपियाँसम्म) रहेको हुनसक्ने बताए।
अझै पनि नगद नियमित रूपमा प्रयोग गरिने देशमा स्विटरजल्याण्ड पर्छ र त्यहाँका नागरिकहरू पदयात्रा र आरोहणमार्गको व्यवस्थापन जस्ता आफ्ना स्वयंसेवी कामहरूप्रति गर्व गर्ने गर्छन्। त्यस्तो प्रयासका लागि चन्दा अपेक्षा गर्ने गरिन्छ र देशको ठूलो जनसङ्ख्याले मन खोलेरै सहयोग गर्ने पनि गर्छन्।
तर अब आरोहणमा काम गर्ने क्लबहरूले चन्दा सङ्कलन गर्ने आफ्नो शैलीमा परिवर्तन गर्नुपर्ने हुनसक्छ। नगदप्रतिको व्यापक आकर्षणले स्विटरजरल्यान्डमा अझ राम्रो सुरक्षा उपाय हुने ठानिएका एटीएम मशिनहरूमा समेत लुटपाटका घटना निम्त्याएको छ। पछिल्लो तीन वर्षमा मात्रै स्विटजरल्याण्डमा दशौँ लाख फ्रयाङ्क लुटपाट भएको छ। स्वीस सङ्घीय प्रहरीले नियमित रूपमा नगदले भर्ने गरिएका र अधिकांश अवस्थामा कमजोर अनुगमन भएका मशिनहरूले युरोपभरिका चोरहरूलाई स्विटजरल्यान्डमा आकर्षण गरिरहेको चेतावनी दिएको थियो।
तर अहिलेको लागि उक्त आरोहण क्लबले रकम चोर्ने जो सुकैलाई ‘पछुतो महसुस गरेर’ र चुपचाप फिर्ता गर्न अनुरोध गरेको छ। र, यो बीचमा रिचर्ड वर्लिनले केही सान्त्वना पनि प्राप्त गरेका छन्। एक जना स्थानीय समर्थकले चोरिएको चन्दा रकमको सट्टा ५०० फ्रयाङ्क उपलब्ध गराएका छन्।
बीबीसी