काठमाडौं । रोजगारी र अध्ययनमा युवा विदेशिएसँगै नेपालको कृषि महिला र पौढले धानिरहेको पाइएको छ । स्वदेशमा कृषि कर्म गर्ने युवा घट्दै गएको राष्ट्रिय कृषि गणनाको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’को नतिजा अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ । पुरुषको संख्या घटेको छ । उमेर समूहका हिसाबले ५४ वर्षमुनिका किसानको संलग्नता घटेको छ ।
नेपालका ५० लाखभन्दा बढी युवा विदेशमा रहेका छन् । २६ लाख श्रम स्वीकृति लिएर गएका हुन् । युवा विदेशिएसँगै त्यसको असर कृषिमा देखिएको सरकारको विश्लेषण छ । विदेश अध्ययनका लागि गत वर्षमात्रै १ लाख १० हजार २ सय १७ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । जसमा अध्ययनका लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ ।
अध्ययनसँगै काम गर्दा गतिलो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेशिने क्रम बढेको हो । वैदेशिक अध्ययन जस्तै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या पनि उच्च छ । गत वर्ष मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै बढी अर्थात् ७ लाख ४० हजार थियो । अघिल्लो आर्थिक वर्षमा करिब ६ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए ।

२०६८ को कृषि गणनाअनुसार २५ वर्षभन्दा मुनि उमेर समूहका मुख्य किसानको हिस्सा ३.१ प्रतिशत थियो । ०७८ सम्म आइपुग्दा यो उमेरका मुख्य किसानको हिस्सा २.६ प्रतिशतमा झरेको छ । एक दशकमा २५ देखि ३४ वर्ष उमेर समूहका कृषकहरू १६.१ प्रतिशतबाट घटेर १४.९ प्रतिशतमा झरेको छ । ३५ देखि ४४ वर्ष उमेर समूहका किसानको संख्या पनि घटेको छ ।
०६८ को गणनामा यो उमेर समूहका किसानको हिस्सा २६..७ प्रतिशत थियो भने त्यसको १० वर्षमा १ प्रतिशत घटेको छ । ४५ देखि ५४ वर्ष उमेर समूहका पनि २५.१ प्रतिशतबाट २४.८ प्रतिशतमा घटे पनि ५५ देखि ६४ उमेर समूहका किसानको संख्या भने दस वर्षको अवधिमा १७.६ प्रतिशतबाट बढेर १८.३ प्रतिशतमा पुगेको छ ।
६५ वर्षभन्दा बढी उमेरका मुख्य किसान पनि ११.४ प्रतिशतबाट बढेर १३.७ प्रतिशत पुगेको छ । कृषि गणना ०६८ अनुसार मुख्य किसानमा महिलाको हिस्सा १९ प्रतिशत मात्रै थियो । १० वर्षमा यो संख्या पनि बढेर ३२ प्रतिशत अर्थात् ३ लाख ३८ हजारमा पुगेको छ ।