रियल टाइम मूल्यमा भारतमा विजुली बेच्न प्राधिकरणले पायो अनुमति

काठमाडौं । नेपालले भारतको ऊर्जा व्यापार बजारमा उही समयको भाउमा बिजुली बेच्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालमा उत्पादित ४४ मेगावाट विद्युत् भारतीय ऊर्जा बजारमा वास्तविक समय (रियल टाइम) मा बेच्न नेपाल विद्युत् प्राधिकरणलाई पहिलो पल्ट अनुमति दिएको छ । यसअघि नेपालले भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघिको बोलपत्र (डे अहेड बिडिङ) का आधारमा मात्र बिजुली बेच्दै आएको प्राधिकरणले अबदेखि सवा घण्टाअघि बिडिङ गरी विद्युत् बेच्न पाउने भएको हो ।

भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले शनिबार रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको हो । यस अन्तर्गत उत्पादन अनुसार प्राधिकरणले सवा घण्टाअघि बिडिङ गरी भारतीय बजारमा विद्युत्को कारोबार गर्न पाउने छ ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले पहिलो चरणमा १९.४ मेगावाटको तल्लो मोदी र २४।२५ मेगावाटको काबेली बी १ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ । यी आयोजना यसअघि ‘डे अहेड मार्केट’ का लागि सूचीकृत थिए। यस्तो अनुमति शनिबार सकिँदै थियो।

अघिल्लो दिनको नवीकरणका लागि पठाइएकोमा दुई आयोजनाको विद्युत् अघिल्लो दिन र वास्तविक बजार समय दुवैमा बिक्रीका लागि अनुमति प्राप्त भएको प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए । भारतको विद्युत् मन्त्रालयले १५ साउनमा विद्युत् आयातरनिर्यात ९अन्तर्देशीय० स्वीकृति तथा सहजीकरणका लागि तोकिएको निकायको कार्यविधि संशोधनमार्फत् छिमेकी देशका अनुमति प्राप्त निकायलाई वास्तविक बजार समयमा पनि सहभागी हुन पाउने व्यवस्था गरेको थियो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्राधिकरणले एक दिनअघिको बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि– एनभिभिएनलाई बेचिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनमार्फत हरियाणा राज्यलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको जनाएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र८१ को साउन र भदौमा पाँच अर्ब ४३ करोड ३१ लाख रुपियाँको विद्युत् भारत निर्यात गरेको छ ।