काठमाडौं । चालु आर्थिक वर्षका तीन महिनामा मुलुकबाट ८५ करोड ३० लाख ७१ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ६९६ टन सिमेन्ट र क्लिंकर निर्यात भएको छ । साउन, भदौ र असोजमा ४६ करोड ८९ लाख ९१ हजार रुपैयाँ बराबरको १ लाख ५५ हजार २४८ टन क्लिंकर निर्यात भएको हो । मुलुकबाट ३८ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको ६ लाख ९ हजार ४४८ टन तयारी सिमेन्ट निर्यात भएको छ ।
गत आर्थिक वर्ष सोही अवधिमा २ करोड १५ लाख ७९ हजार रुपैयाँ बराबरको ६० हजार ८४८ टन सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । गत आर्थिक वर्षको साउन, भदौ र असोजमा ८० लाख ३३ हजार रुपैयाँको १ हजार २५ टन क्लिंकर र १ करोड ३५ लाख ४६ हजार रुपैयाँको ५९ हजार ८२४ टन तयारी सिमेन्ट निर्यात भएको भन्सार विभागको तथ्यांक छ । नेपालबाट सिमेन्ट र क्लिंकर भारतमा मात्रै निर्यात भएको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले ‘स्वदेशी सिमेन्टको आन्तरिक खपत बढाउन पक्की सडक निर्माण गर्दा निश्चित मापदण्डका आधारमा ढलान गर्ने प्रविधि अवलम्बन गरिने’ व्यवस्था अघि सारेको छ । ‘यसबाट टिकाउ र गुणस्तरीय सडक निर्माण हुने तथा बिटुमिन ९अलकत्रा० को आयात घट्ने विश्वास लिएको छु,’ अर्थमन्त्री प्रकाशशरण महतले बजेट वक्तव्यमा भनेका छन् । सिमेन्ट उद्योगी व्यवसायीले लामो समयदेखि माग गर्दै आएको मुद्दालाई सरकारले अघि सार्दै आएको छ ।
मुलुकमा ६५ सिमेन्ट उद्योग छन् । सिमेन्टको माग कम भएर उत्पादन कटौती गरेका कारण ९० प्रतिशतभन्दा बढी सिमेन्ट उद्योग अस्थायी रूपमा बन्द भएका छन् । मुलुकमा सिजनमा ७० लाख र अफसिजनमा ३० लाख टन मात्र सिमेन्ट उत्पादन हुने गरेको छ । आर्थिक वर्ष ०७८\७९ मा १२ लाख ९३ हजार रुपैयाँ बराबरको १५ हजार १ सय ८९ टन र ०७७\७८ मा ८३ हजार रुपैयाँ बराबरको ११ टन सिमेन्ट निर्यात भएको विभागको तथ्यांक छ ।
नेपालले यसअघि पनि ०६९\७० मा सिमेन्ट तथा क्लिंकर निर्यात गरेको थियो । तर दुई आर्थिक वर्षपछि त्यसलाई निरन्तरता दिन सकेको थिएन । पछिल्ला तीन आर्थिक वर्षदेखि फेरि सिमेन्ट र क्लिंकर निर्यात हुन थालेको हो । आर्थिक वर्ष ०६९\७० मा २ लाख १८ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात गरेको थियो । भारतबाटै कच्चा पदार्थ ल्याई तयारी सिमेन्ट निर्यात गर्दा लागत महँगो र उद्योग आत्मनिर्भर नहुँदा निकासीले निरन्तरता पाउन नसकेको र अहिले सरकारले सिमेन्ट निर्यातमा अनुदान दिनेलगायत व्यवस्था र उद्योग पनि आत्मनिर्भर भइसकेकाले निर्यात सुरु भएको सरोकारवालाको दाबी छ ।
झन्डै एक दशकअघि पनि आरएमसी सिमेन्टले भारतको सीमावर्ती बजारमा पोर्टल्यान्ड स्ल्याग ९पीएससी० सिमेन्ट निर्यात गरेको थियो । ०७०\७१ मा ५६ लाख ५९ हजार रुपैयाँ बराबरको ५ लाख ४५ हजार १ सय ५० किलो सिमेन्ट निर्यात भएको थियो ।
०७१\७२ मा ६० हजार २ सय रुपैयाँ बराबरको ५ हजार ५ सय २५ किलो सिमेन्ट मात्र निर्यात भएको विभागको तथ्यांक छ । पछिल्ला वर्षमा पाल्पा सिमेन्टको ‘तानसेन’ र अर्घाखाँची र बालाजी ब्रान्डका सिमेन्ट भारतमा निर्यात हुन थालेका छन् । पहिला भारतबाटै कच्चा पदार्थ ल्याई तयारी सिमेन्ट पुनः भारत पठाउँदा लागत मूल्य बढेकाले व्यवसायीले निर्यातलाई निरन्तरता दिन नसकेका थिएनन् ।
गत वर्षदेखि औपचारिक रूपमा निर्यात सुरु भएकाले यसपालि ४ अर्बसम्मको निर्यात हुने अनुमान गरेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । ‘सरकारले गत वर्षदेखि सिमेन्ट निर्यात गर्नेलाई अनुदान दिने व्यवस्था गरे पनि हालसम्म कसैले पाएनन्,’ उनले भने, ‘५० करोडभन्दा बढी निर्यात गर्नेलाई ८ प्रतिशत अनुदान दिने भनेको छ । तर कसैको पनि नाघेको छैन । अलिअलि निर्यात गरेबापत पाइने ४ प्रतिशत अनुदान पनि पाएका छैनौं ।’ सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको ५६ वर्ष भइसकेको संघले जनाएको छ ।