१० महिनामा निर्यात १ खर्ब, आयात १० खर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिना (फागुन)सम्म निर्यात १ खर्ब नाघेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत आव २०७९–८० को यसै महिनाको तुलनामा ३.९९ प्रतिशत कम हो । गत आव फागुनसम्म १ खर्ब ४ अर्ब ७९ रुपैयाँको निर्यात भएको थियो । तथ्यांक अनुसार फागुनसम्म आयात भने १० खर्ब नाघेको छ । ८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो गत आव यसै अवधिको तुलनामा २.६६ प्रतिशत कम हो ।

अघिल्लो वर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको तथ्यांकमा छ । फागुनमा मात्र १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ । आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दवबै घटेको अवस्था छ । तथ्यांक अनुसार फागुन मसान्तसम्म कुल वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड देखिएको छ । यो अघिल्लो आवको तुलनामा २.७८ प्रतिशत कम हो ।

अघिल्लो आवमा ११ खर्ब ६३ अर्ब १८ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो । आठ महिनामा व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड देखिएको छ । यो अघिल्लो वर्ष यसै अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो । उक्त आवमा ९ खर्ब ५३ अर्ब रुपैयाँ व्यापार घाटा थियो । नेपालको कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ८.९० प्रतिशत र आयातको हिस्सा ९१.१० प्रतिशत रहेको देखिन्छ ।

आठ महिनामा नेपालले पेट्रोलियम पदार्थ आयातमा मात्र २ खर्ब १४ अर्ब २७ करोड बराबर वैदेशिक मुद्रा खर्च गरेको छ । यस तथ्यांक अनुसार नेपालको कुल निर्यात व्यापारले पेट्रोलियम पदार्थको आयात समेत धान्न नसक्ने अवस्था छ ।

पेट्रोलियम पदार्थमा नेपालले सबैभन्दा धेरै व्यापार घाटा बेहोरिरहेको अवस्था छ । आठ महिनामा आइरन र स्टिल ८६ अर्ब ८१ करोड बराबर आयात भएको छ । विद्युतीय सामग्री र यसका उपकरण आयातमा ६७ अर्ब ६९ करोड रुपैयाँ विदेशिएको छ । सवारीसाधन आयातमा ४८ अर्ब १० करोड रुपैयाँ विदेशिएको तथ्यांक छ । तरकारीजन्य वस्तु आयातमा २१ अर्ब २० करोड रुपैयाँ विदेशिएको तथ्यांक छ । तथ्यांक अनुसार भारतसँग सबैभन्दा धेरै व्यापार रहेको छ ।

आयात–निर्यात दुवैमा भारत अगाडि छ । व्यापार घाटाको ठूलो हिस्सा समेत भारतसँगै देखिन्छ । आठ महिनामा भारतबाट नेपालमा ६ खर्ब ३८ अर्ब रुपैयाँको सामान आयात भएको छ । नेपालबाट ६८ अर्ब ५१ करोड रुपैयाँको वस्तु भारतमा निर्यात भएको छ । भारतसँग ५ खर्ब ६९ अर्ब बराबर व्यापार घाटा रहेको देखिन्छ ।

उत्तरी छिमेकी चीनसँग १ खर्ब ९२ अर्ब रुपैयाँ बराबर व्यापार घाटा रहेको छ । त्यहाँबाट १ खर्ब ९४ अर्बको वस्तु आयात भएको छ । चीनमा नेपालबाट भने १ अर्ब ९५ करोडको मात्र वस्तु निर्यात भएको छ । आठ महिनामा नेपालले १ सय ५८ भन्दा धेरै देशसँग व्यापार गरेको छ ।