काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा सीप मेला आयोजना गर्ने भएको छ। महानगरले २ हजार ८१ जनालाई एक महिने निःशुल्क तालिम दिन लागेको हो। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउन, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउन, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ।
रोजगार क्षेत्रमा देखिएको खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सीप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यावसायिक तालिमको आवश्यकता महसुस गरेर ुसीप मेलाु कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ। विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई सीपमूलक तालिममा सहभागी हुन महानगरले आह्वान गरेको छ। ‘विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारीलाई सीपमूलक तालिममा सहभागी हुनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। यसबाट उहाँहरू औपचारिक अर्थतन्त्रमा प्रवेश गर्नुहुनेछ,’ महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
महानगर गौरव योजनाअन्तर्गत रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि कार्यक्रममा ३४ भन्दा धेरै पेशाका सीपमूलक तालिम रहेको महानगरले जनाएको छ। साइबर सेक्युरिटीमा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ।
‘नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध हुनेछन्। यी सबै कार्यक्रमबाट उत्पादन भएका जनशक्तिहरूलाई ुसीप मेलाु मा रोजगारदाताहरूसँग सम्पर्क गराउनु मेला आयोजनाको अर्को उद्देश्य हो,’ महानगरले भनेको छ।
सीप मेलामा तालिमका लागि १० बटा क्षेत्र निर्धारण गरिएको महानगरले जनाएको छ। ती क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन्। मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने महानगरको योजना छ। सुरू गर्न लागिएका तालिममध्ये अटो मोबाइल्स एउटा क्षेत्र हो। यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरबाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन्। दोस्रो निर्माण क्षेत्र हो। यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम हुनेछ।
हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो। यसमा वारिस्ता, फुड एण्ड कुक, बेकरी, वार टेन्डिङ र वेटररबेट्रेस प्रशिक्षण हुनेछ। सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो। यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सिसिटिभी क्यामरा विषय राखिएका छन् ।
मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ। आर्ट एण्ड कल्वरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ। यी क्रमशः पाँचौं र छैटौं क्षेत्र हुन्। सातौं क्षेत्र गार्मेन्ट्स हो। यसमा टेलरिङ ड्रेस मेकर र फेसन डिजाइनिङको कक्षा हुनेछ।
आठौं क्षेत्र व्युटिसियन (सौन्दर्य कला) हो। यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ। नवौं क्षेत्र डिजाइनिङ हो। यसमा साइन मेकिङ प्रशिक्षण हुनेछ। दशौं विधा पुरोहित हो। यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ। तालिमको अन्तिम दिन रोजगार मेला हुने महानगरले जनाएको छ।
‘यस दिन रोजगारदाताहरू स्टलमा रहनु हुनेछ। सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनु हुनेछ। यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नु हुनेछ। रोजगारदाताले सीपयुक्त जनशक्ति प्राप्त गर्नुहुनेछ,’ महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।