१० महिनामा भित्रियो ४१ अर्ब माथि एफडीआई

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०–८१ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा व्यापक सुधार देखिएको छ । उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४१ अर्ब २ करोड रुपैयाँबराबर एफडीआई स्वीकृत भएको छ । यो अघिल्लो आव २०७९–८० को सोही अवधिको तुलनामा सवा ११ अर्ब बढी हो । गत आव वैशाख मसान्तसम्म २९ अर्ब ७४ करोड रुपैयाँ बराबर एफडीआई आएको थियो । यो वर्ष कुल ३ सय ७ उद्योग दर्ता भएको तथ्यांकमा छ ।

गत वर्ष २ सय १९ मात्र उद्योग दर्ता भएका थिए । यस वर्ष वैशाखमा मात्र ३८ उद्योग दर्ता भएका छन् । जसमार्फत ११ अर्ब २८ करोड ५७ लाख रुपैयाँबराबर वैदेशिक लगानी स्वीकृत भएको छ । तथ्यांक अनुसार सरकारले गरेको लगानी सम्मेलनको प्रभाव एफडीआईमा समेत देखिएको छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल स्वीकृत एफडीआई ४ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । तथ्यांक अनुसार यस वर्ष १० महिनामा साना उद्योगमा बढी लगानी केन्द्रित भएको देखिएको छ । वैशाखसम्म २ सय ९० साना उद्योगमा लगानी आएको छ ।

१३ मध्यम खालका उद्योगमा लगानी स्वीकृत भएको विभागले जनाएको छ । ठूला चार उद्योगमा मात्र एफडीआई स्वीकृत भएको छ । वैशाखमा मात्र स्वीकृत एफडीआईमध्ये साना उद्योगमा ३७ र एक ठूलो उद्योगमा लगानी स्वीकृत भएको तथ्यांकमा छ ।

यस वर्ष वैशाखसम्म आएको एफडीआईको ठूलो हिस्सा पर्यटनमा केन्द्रित देखिन्छ । पर्यटनमा १ सय ४४ एफडीआई स्वीकृत भएको छ । जुन कुल उद्योगमा ४७ प्रतिशत हो । सेवा क्षेत्रमा १ सय ३ उद्योग दर्ता छन् । जसको हिस्सा ३४ प्रतिशत छ । उत्पादनमा ३४ उद्योग दर्ता छन् । जसको हिस्सा ११ प्रतिशत छ । सूचना प्रविधिमा ९ उद्योग दर्ता छन् । यो ३ प्रतिशत हिस्सा हो ।

यसबाहेक कृषिमा ७, पूर्वाधारमा ७, खानीमा २ र ऊर्जामा एक उद्योगले एफडीआई स्वीकृत गराएको विभागको तथ्यांक छ । यस वर्ष वैशाखसम्म झन्डै २ हजार विदेशी नागरिकले नेपालमा लगानीकर्ताका रूपमा बिजनेस भिसा पाएका छन् । तथ्यांक अनुसार वैशाखसम्म १ हजार ८ सय ९६ लगानीकर्ताले बिजनेस भिसा पाएका छन् ।