रैथाने पेय पदार्थको ब्राडिङ गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको ब्रान्डिङ’ सम्भाव्यता अध्ययन सुरु गरेको छ । नेवाः समुदायले धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यका लागि उत्पादन गर्ने पेय पदार्थ औषधिका रूपमा समेत प्रयोग हुने गरेको छ । जन्म र मृत्युबीचको संस्कार तथा शुभकार्य, जात्रा, पर्व, पाहुना आउँदा वा बिदाइ गर्दा आफैंले उत्पादन गरेको पेय पदार्थ (अयला, ठोँ) लाई गुणस्तरीय मानिने महानगरले जनाएको छ ।

यसरी उत्पादन हुने पेय पदार्थको गुणस्तरीयता ब्रान्डिङ गरेर विश्वबजार पु¥याउने सम्भावना अध्ययनबाट हेर्न लागिएको हो । महानगरका अनुसार कार्यक्रमलाई सहकारी विभागले अगाडि बढाएको हो । यो कार्यक्रमलाई नेवाः समुदायभित्रका विभिन्न गुथि तथा संघसंस्थाका प्रतिनिधिको प्रतिक्रिया बुझ्न महानगरले आइतबार छलफल समेत आयोजना गरेको छ ।

‘मदिरा ऐनले यस्ता वस्तुको प्रवद्र्धन रोकेको छ । यसरी रोक्नुको अर्थ अध्ययन गर्न नपाउनु भन्ने होइन,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘अध्ययनबाट आर्थिक, सामाजिक, सांस्कृतिक जस्ता पहिचान बढाउन सहयोग पुग्ने देखियो भने कानुनी व्यवस्था संशोधन गरेर भए पनि सम्भावनालाई नतिजामा रूपान्तरण गर्नुपर्छ ।’

पुस्तौंदेखि व्यावहारिक शिक्षाका रूपमा हस्तान्तरण हुँदै आएको पेय पदार्थ उत्पादन गर्ने विधिलाई अभिलेखन गर्न आवश्यक रहेको परियारले बताए । संस्कृतिसँग जोडिएको उत्पादन प्रक्रियालाई पुस्तान्तरण गर्ने काममा अध्ययनले सहयोग गर्ने उनको भनाइ छ ।

छलफलमा ज्यापू महागुथि नेपा, महानगर समिति, गुंलाबाजं संरक्षण तथा व्यवस्थापन समिति, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाज अन्तर्गतका विभिन्न गुथि खलः का प्रतिनिधि सहभागी थिए ।

छलफलमा सहभागीले पेय पदार्थ उत्पादनका लागि आवश्यक कच्चापदार्थ, उत्पादन प्रक्रिया, मात्रा, समयावधि, भण्डारण विधि, प्रयोग विधि लगायत विषयमा जानकारी दिँदै महानगरले अगाडि सारेको कार्यक्रमले नेवाः सभ्यता अन्तर्राष्ट्रियकरण हुन ठूलो योगदान हुने बताए ।

छलफलमा महानगर सहकारी विभाग प्रमुख बलराम त्रिपाठीले स्थानीयको भावना र अध्ययनले देखाउने आवश्यकता विश्लेषण गरेर आगामी दिनका कार्यक्रम सञ्चालन गरिने बताए । विभागका अनुसार समुदायले सांस्कृतिक प्रयोजनका लागि उत्पादन गरेका वस्तुमात्र अध्ययन हुनेछ ।

अयला ब्रान्डिङको कामलाई विभिन्न चरणमा अगाडि बढाउने योजना छ । ‘पहिलो चरणमा विद्यमान अवस्थाको अध्ययन हुनेछ । यो काम सुरु भइसकेको छ । यसबाट कुन ठाउँमा कसले बनाएको उत्पादन कुन–कुन प्रयोजन ९शुभकार्य, औषधि, पिउन० का लागि ब्रान्डिङ गर्न सकिन्छ भन्ने थाहा हुनेछ,’ त्रिपाठीले भने ।

यसपछि कानुनी व्यवस्था तर्जुमा गर्ने र यसका आधारमा मूल्य, कर र प्रयोजन निर्धारण गरिने छ । त्यसपछि बजारीकरण गर्ने चरणमा पुगिन्छ । यति गरेपछि ब्रान्डिङ गरिएका पेय पदार्थ अन्तर्राष्ट्रिय बजारमा लैजान सकिने उनले बताए ।

काठमाडौं–१८ की स्थानीय नानीहिरा प्रजापतीका अनुसार ब्यलय् (६ महिना राखेर कच्चापदार्थ तयार पारिने), लय् (एक महिना राखेर कच्चापदार्थ तयार पारिने) र पुइकेगु (ब्यलय् र लय्) लाई फेरि प्रयोग गरेर पेय पदार्थ उत्पादन गर्ने प्रचलित छन् । यसमध्ये ब्यलय् सबैभन्दा गुणस्तरीय हुन्छ ।

काठमाडौँमा पुस महिनाको पानीमा बनाइएको उत्पादनलाई उत्कृष्ट मानिन्छ । मंसिर, पुस र माघमा कच्चापदार्थ बनाउने, यसलाई भण्डारण गरेर मौसम र शुभकार्यको प्रकृति अनुसारको स्तरमा उत्पादन गर्ने गरेको उनले बताइन् । ‘पहिले यसका लागि तामाको भाँडा प्रयोग गरिन्थ्यो । भण्डारण गर्दा तापक्रम मिलाउन पराल र माटोको घ्याम्पो प्रयोग हुन्थ्यो । शुभकार्यमा सगुनका रूपमा आफैंले उत्पादन गरेको वस्तुको प्रयोग हुन्थ्यो । अहिले बजारमा प्राप्त हुने पेय पदार्थ किनेर शुभकार्य चलाउने गरिएको छ,’ उनले गुनासो गरिन् ।

भाँडाकुँडा पनि आल्मुनियम र प्लास्टिक प्रयोग हुँदा स्थानीय आय घटेको र खर्च बढ्ने तथा यस्तै गुणस्तरमा पनि ह्रास आउन थालेको बताए । विभागका अनुसार मौलिक सिपबाट गुणस्तरीय पेय पदार्थ बनाउने परम्परालाई पुनस्र्थापना गर्ने र यसको दिगो सुरक्षाका लागि ब्रान्डिङ गर्ने महानगरको योजना हो ।