यथार्थवादी उपन्यास–रोबोट जर्ज

बी.के. नेवा, न्युयोर्क

गीता खत्री नेपाली साहित्यमा चर्चित नाम हो । उहाँ आख्यानकार, कवि, गजलकार, गीतकार, नियात्राकार, नाटककार, सम्पादक हुँदै अब एक सफल उपन्यासकार बन्नु भएको छ ।
उहाँको पहिलो उपन्यास रोबोट जर्ज पाठकसामु आएको छ । विज्ञान र प्रविधिले मानिसको जीवनमा पारेको प्रभावसहित आजको सामाजिक यथार्थवादका साथै यौन मनोवादमा आधारित यो उपन्यायले पाठकलाई भरपुर तिर्खा मेटाउँछ ।
विसं २०२० सालमा काठमाडौँमा जन्मेर हाल अमेरिका बस्दै आउनुभएकी खत्रीले यो उपन्यासमार्फत अमेरिकामा बस्ने नेपालीको दिनचर्यालाई यथार्थपरक ढङ्गले प्रस्तुत गर्नुभएको छ । उहाँले नेपाली समाज र अमेरिकी समाजको तुलना गर्दै श्रीमान् र श्रीमतीबीचको सम्बन्ध, प्रेम, विवाद, यौनसम्बन्ध, सम्बन्ध विच्छेदआदि कारणले जीवनमा परेको प्रभाव, त्यसका विज्ञान र प्रविधिले खेलेको भूमिका र प्रभावबारे सूक्ष्म विश्लेषण गरी अन्त्यमा मोहजालबाट मुक्त भई सामाजिक र मानवीय सेवामा लाग्न नारी पात्र तारामार्फत सन्देश दिनुभएको छ ।


उमेरले पचास काटेकी चार छोरीकी आमा ताराको लाग्ने गोवर्धनसँग एकएक डिभोर्स हुन्छ । उनीहरुको तीस–पैतिस वर्ष लामो प्रेम कहानि एक झड्कामा टुङ्गिन्छ । लोग्नेका लागि जन्मदिने बाबुआमा र घरबार त्यागेर हिँडेकी तारालाई उसले पैसा, नोकरी र कामुकताको उडानमा नचाहिँदो आरोप, यातना, पीडा र दर्द दिन्छ । सहनशीलताको सीमा पार गरेपछि ताराले अदालतको सहारा लिनुपर्यो । अदालतको अगाडि आफूले जन्माएका छोरीहरुको डिएनए परिक्षणसमेत गर्नुपर्यो । अदालतले डिभोर्स गरिदिएपछि ताराको जीवनले नयाँ मोड लिनपुग्छ ।
तारासित डिभोर्स भएपछि अर्की महिलासँग सम्बन्ध गासेको गोवर्धनलाई ताराको सराप लाग्छ । उनले अनेका कष्ट भाग्नुपर्छ । अनेकौँ हन्डर र ठक्कर खाएपछि उसले विगतमा गरेका पापकर्मको पश्चाताप गर्छ ।
डिभोर्सपछिको एक्लो महसुस गरेकी तारालाई जीवन खुसी र सुखी बनाउन छोरीहरुले भरपुर सहयोग गर्छन् । इच्छा र चाहना दबाएर नबस्न उनीहरुले तारालाई बारम्बार सम्झाउँछन् ।
ताराले जर्सी सिटी निवासी एक जना पुरुष जर्जसित फेसबुकबाट चिनजान गरिन् । ऊ पेसाले डाक्टर रहेछन् । उसको एउटी छोरी पनि छन् । श्रीमती क्यान्सर लागेर मरेपछि जर्ज पनि एक्लो महसुस गर्दै कसैको माया खोजिरहेका रहेछन् । तारालाई पनि समय कटाउन बोल्ने साथीको अभाव भइरहेको थियो । साथीका रुपमा बस्न सकिन्छ कि भनेर ताराले उसित कुरा अगाडि बढाएकी थिइन् ।
केही समयपछि बार्नेस एन्ड नोबलमा तारा र जर्जको भेट हुन्छ । त्यसपछि बेलाबेलामा फोनमा कुरा हुने र कहिले काँही उपहारसहित तारालाई भेट्न जर्ज आउने क्रम जारी हुन्छ । दुवैजनाबीच आत्मीयता बढ्छ । एक अर्काबीच प्रेम सम्बन्ध गाढा हुँदै जान्छ । जर्जले एकदिन तारालाई जोन्स बिचमा घुम्न जाने विचार गरेर फोन गर्छन् । जर्जको गाडीमा दुवै जना जोन्स बिचमा घुम्न जान्छन् ।
फर्केर आउँदा जर्जको गाडी अर्को गाडीसँग ठोकिएर गम्भीर दुर्घटना हुन्छ । दुवै जना गम्भीर घाइते हुन्छन् । अस्पताल पुर्याएलगत्तै जर्जको मृत्यु हुन्छ भने तारा बेहोस अवस्थामा आइसियुमा भर्ना गरिन्छ । ताराको होस खुल्दैन । बेहोस अवस्थामै उनले बेला बेलामा ‘जर्ज मलाई भेट्न किन आउँदैनौँ, तिमी कहाँ छौँ’ भन्ने गर्छिन् । अरु कसैलाई पनि उनी चिन्दिनन् । ताराले सबै कुरा बिर्सिए पनि जर्जलाई बिर्सेकी छैनन् ।
लामो समयसम्म पनि ताराको होस खुलेन । उनका दुवै खुट्टाले काम नगर्ने भए नक्कली खुट्टा राख्नुपर्ने भयो । नक्कली खुट्टा राखियो । ताराका छोरीहरुले जर्जजस्तै रोबोट बनाए । रोबोट जर्जलाई तारासँग भेट गराइयो । रोबोट जर्जलाई भेट गरेपछि तारामा पूर्वस्मृति भयो । दुवै जनाको बिहे हुने कुरा पनि चल्यो तर चीनबाट फैलिएको कोरोना महामारीले बिहे पर धकेलियो ।
एक दिन तारा र रोबोट जर्जबीच प्रणयका कुरा भइरहेका थिए तर रोबोट मानवीय व्यवहार गर्न चुक्यो अनिमात्र उनलाई यो जर्ज होइन रोबोट हो भन्ने अनुभूति भयो त्यसपछि तारालाई जर्जप्रति शङ्का लागेछ । उनलाई जर्ज पहिलेको जस्तो लाग्नै छाडेछ । तारालाई एक किसिमको झड्का लागेछ । हिराले हिरा काटेजस्तै नयाँ झड्काले पुरानो झड्कालाई काटिदियो । तारालाई दुर्घटनाबारे स्मरण भयो । जर्जको घाउ र चोटको सोधखोज गरिन् तर रोबोट जर्जले मानिसले जस्तो तारालाई सन्तुष्ट जवाफ दिन सकेन । त्यसपछि ताराले छोरीहरुसँग फोनमै जर्ज र आफ्नो दुर्घटनाको बारे कुरा गरिन् ।
ताराले भनिन् – जीवनमा चाहेका सबै कुराहरु पूरा हुँदैनन् । जीवन अगाडि बढाउन मानिसले धेरै किसिमका नातागोता जोड्नुपर्छ । मायाका बन्धनहरु बाँध्नुपर्छ र तोड्नुपर्छ । यस क्रममा कति सफल हुन्छन् त कति असफल पनि हुन्छन् । असफल हुनेले पनि बाँच्नै पर्छ । मेरो जीवनका बन्धनहरु कहिल्यै नजोडिने समूहमा परेछन् । त्यसैले जोडिँदै र टुट्दै गए र अन्त्यमा शून्य ।
ताराले बल्ल जीवनलाई राम्रैसँग बुझिन् । बरु अब बाँकी जीवन सामाजिक सेवामा अर्पण गर्ने, दीनदुःखी र असहायहरुको सेवामा लगाउने निर्णय गरिन् । त्यसपछि उनले माया मोहबाट अलग भई असहायहरुको सेवा गर्ने सोच बनाइन् ।