“संगीत मेरो लागि जीवनको सार हो । संगीतले मेरो मन मस्तिष्कमा स्वस्तिशान्ति कायम भइ रहन्छ, त्यसैले म बिगत ३० वर्षदेखि यसैमा व्यवसाय एवम् साधक भएर लागिरहेको छु । कहिले गाएर, कहिले बजाएर, त कहिले अरुलाई गाउन लगाएर बसेको छु।” रुचि र रहरलाई व्यवसायमा परिणत गर्न सफल न्युयोर्क सहरका एक संगीत साधक ओम कर्माचार्यको यो अभिव्यक्तिले सबैलाई गीत संगीतप्रति लाग्न प्रेरित गर्दछ ।

नेपालमा लामै समयदेखि गीतसंगीतको व्यवसायमा लागेतापनि न्युयोर्क सहरमा भने सन् २०१४ देखि ॐ मेगा अडियो भिडियो प्रडक्सन् स्टुडियो सञ्चालन गर्दै आइरहेका छन्, जुन अमेरिकामा नेपालीले संचालन गरेको पहिलो एक मात्र रेकर्डिङ स्टुडियो हो । कर्माचार्यले हालसम्म अमेरिकामा मात्र अनगिन्ति गीत रेकर्ड गराइ सकेका छन् । उनको स्टुडियोमा हिन्दी, भुटानी, टिबेटन र नेपाली मात्र होइन कि, हेसियन्, स्पानिश एवम् अंग्रेजी लगायत धरै भाषाका गीतहरु समेत उनको स्टुडियोमा रेकर्ड भएका छन् ।

टेलिभिजनमा समेत कार्यक्रम चलाएका ओमको जीवनक्रम हेर्दा उनी म्युजिक, मिडिया र मनोरञ्जनकै लागि जन्मिएको जस्तो प्रतित हुन्छ । विभिन्न कार्यक्रमहरुमा स्टेज समेत गर्ने उनले बिभिन्न कार्यक्रममा सम्मान समेत ग्रहण गरिसकेका छन् ।
काठमाडौं डिल्ली बजारको नेवार परिवारमा जन्मेहुर्के पनि शुद्ध खस नेपाली भाषा बोल्ने उनको वाक्पटुताले पनि यो व्यवसायमा सहयोग गरेको उनको अनुभव छ । संगीतमय जीवनको बारेमा जिज्ञासा राख्दा ‘जीवन अनुभवको संगालो’ रहेको कर्माचार्यको ठहर छ ।

आफ्नै शब्द, स्वर र संगीतमा समेत दर्जनौं गीत रेकर्ड गराई सकेका उनलाई चर्चा र प्रशिद्धिको बारेमा प्रश्न गर्दा ‘काम गर्दै जाने हो, चर्चा भए पनि नभएपनि गुनासो नरहेको’ हाँसेर बताउँछन् ।

नेपालीको रेकर्डिङ् स्टुडियोमा यदाकदा बिदेशीहरुपनि गीत रेकर्ड गर्न आउँदा गर्व महसुस् गर्ने ओमको निकट भविष्यमा नै न्युयोर्क सहरको जीवनमा आधारित एउटा नेपाली फिल्म बनाउने योजना रहेको बताए ।

शुरुका दिनमा गरिखाने वर्गको बाहुल्यता रहेको न्युयोर्क सहरको ज्याक्सन हाइट्समा रेकर्डिङ् स्टुडियो सञ्चालन गर्न लाग्दा नजिकका चिनेजानेका साथीभाइले नै ‘हुँदैन / सक्दैन’ भनेर कटाक्ष गरेको सम्झँदै “आफ्नो लगनको अगाडि भगवान पनि झुक्छ । म आफुलाई मेहेनती छु जस्तो लाग्छ” भन्दै मुस्कुराउँछन् ।

“अमेरिकाको भिसा लागेपछि अब मैले परदेशको व्यस्त जीवनशैलीमा संगीत श्रृजना र रेकर्डिङ व्यवसायलाई कसरी निरन्तरता दिन सकुँला र ? भनेर चिन्तित भएको थिएँ, तर यतिबेला मैले चाहेको जस्तो गर्न सकेको छु। यो पनि मेरो अन्तरमनको जीत हो” कुरै कुरामा पनि संगीतको भोक देखिने ओमलाई रेडियो नेपाल तथा टिभीदेखि अमेरिकासम्मको संघर्षको कथा लेख्न मन भएको पनि सुनाए ।

मेरो निष्कर्षमा ओम संगीत बिना बाँच्न नसक्ने एउटा उम्दा सर्जक र साधक हो । ओमले लेखेका गीतहरु पढ्दा, उनले संगीत भरेका गीतहरु सुन्दा र उनले बनाएका म्युजिक भिडियोहरु हेर्दा उनले नछोएका संगीत र गीत सम्वन्धि बिधा नै बाँकी छैन जस्तो भाहान हुन्छ ।
उनको यो उर्जा र समर्पणले आगामी दिनमा नेपाली संगीतले थप फक्रने वातावरण पाओस् । शुभेक्षा !