- बिष्णु सिंह, न्युयोर्क
नेपालीहरु आफ्नो देशमा अनेकन बिकृति, विसंगति, बेरोजगारी खप्न नसकेर आफ्नो जीवन धान्न र परिवारको पालन पोषणका लागि अनेक दुखकष्ट सहँदै प्राय संसारको सबै मुलुकमा रोजगारीका लागि पुगेका छन।
तिनै नेपालीले बिदेशबाट दुख गरि कमाएको बिदेशी मुद्रा नेपालमा रेमिट्यान्स पठाएकोले नेपालका पहुचावालाहरुलाई बिदेसी गाडि, गाडीमा हाल्ने तेल, सुखसयलका समानहरु, बिदेशी उपचार, विदेश यात्रा, र अनेकन बिदेसी मुद्रा आवस्यक पर्ने कार्य गर्न सम्भव भएको छ।
तर तिनै नेपालीले दुख गरि कमाएको रकमले अब आफ्नो बालबच्चा र परिवारलाई आवस्यक पर्ने केहि लत्ताकपडा, औषधि, जुत्ता, फोन, खानेकुरा यस्तै अन्य घरायशी समानहरु बिदेशबाट नेपाल पठाउन नेपाल सरकारको भन्सार कार्यालयले कठिन बनाईदिएको छ। उदाहरणको लागि साउदी अरबमा रोजगारीका लागि गएकी गंगामाया तामाङले कार्गोमार्फत बच्चाका लागि पठाएको ३९ किलो सामान एक महिनादेखि भन्सारमा रोकिएको छ ।
व्यवसायीहरूको गुनासो:
डिजी प्लस प्याक र शिप कार्गो कम्पनिका मालिक दावा आहोवा, न्युयोर्क अमेरिकाबाट नेपालमा कार्गो सामानको ओसारपसार गर्दछन।
उनि भन्छन, “भन्सार कार्यालयको कडाइका कारण व्यक्तिगत रूपमा पठाइएका सामान महिनौँसम्म रोकिने अवस्था भएको छन्।” उनि भन्छन, “उता हाम्रो सामान कहिले आइपुग्छ भनेर ग्राहकहरू भनिरहनुभएको छ, यसको जवाफ दिनसक्ने अवस्था हामीसंग छैन। ” भन्सार कार्यालयले भने अनुसार जाँचपास गरेर लैजान समेत समस्या रहेको उनको भनाइ छ। भन्सार सम्बन्धी प्रस्ट कानुन नहुँदा हामि जस्ता साना व्यवसायी समस्यामा मात्रै पर्ने नभएर ग्राहकको विश्वास समेत गुमाउनु परेको छ । ग्राहकको थुप्रिएको समान देखाउदै उनले भने, “त्यसैले अहिले हाम्रो गोदाममा यति धेरै बक्स जम्मा भएका छन। हाम्रो राख्ने ठाऊ नै छैन। “
विदेशबाट आउँदा व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि ल्याइने निश्चित परिमाणका वस्तुलाई भन्सारले महसुल छुट दिने व्यवस्था गरेको छ । यस्तो सामानलाई झिटीगुन्टा भन्ने गरिन्छ ।
बिगतमा व्यक्तिले आफै वा कार्गो तथा कुरियर सेवा प्रदान गर्ने कम्पनीमार्फत् पठाएको सामानलाई पनि झिटीगुन्टा सरह मानेर भन्सार छुट दिइँदै आएको थियो । तर, सोही माध्यमबाट व्यावसायिक सामान ल्याउँदा भने भन्सार महसुल लिएरमात्रै जाँचपास गरिँदै आएको थियो ।
तर भन्सार कार्यालयको गत फागुन ११ को “व्यापार सहजीकरण” बैठकले कार्गो तथा कुरियरमार्फत् आउने व्यावसायिक सामानहरू समेत व्यक्तिगत प्रयोजनको भनेर घोषणा गर्ने प्रवृत्ति देखिएको भन्दै यसमा कडाइ गर्ने निर्णय गर्यो । अनि त्यसको भोलिपल्टदेखि भन्सार कार्यालयहरूले जाँचपास कडाइ गरे।
अहिले कुरियर कम्पनि आफैले भन्सारबाट सामान छुटाएर ग्राहकको ठेगानामा पुर्याउन सक्दैनन्। कम्पनीले ग्राहकलाई सामानको रशिद दिन्छ। अनि ग्राहकले विमानस्थलको भन्सारमा गएर अनेक झमेला खपेर पनि सामान छुटाउन सकिरहेका छैनन्। यसले गर्दा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा दुई सय मेट्रिक टनभन्दा बढी सामान अड्किएको छ ।
नेपालीहरुको सरकारप्रति आस्था र बिस्वास बढ्ने:
अहिले विभागको नयाँ नेतृत्वमा महेश भट्टराई छन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुखमा दिलीप गौतम छन् । विभाग र कार्यालयमा नयाँ नेतृत्व आएपछि जाँचपासमा कडाइ हुन थालेको छ । महानिर्देशक भट्टराई झिटीगुन्टाको नाममा सरकारले दिएको राजस्व छुटलाई दुरुपयोग गर्दै व्यावसायिक सामान भित्र्याउने गरेको पाइएकाले यसलाई रोक्ने प्रयास गरिएको बताउँछन् ।
अवस्य पनि सबै ब्यापारी दुधले नुहाएका छैनन्। तर केही गैर कानुनि कार्य गर्ने ब्यापारीको कारण बिदेशमा गएर दुखगरी आफ्नो देशको माया गरि कमाएको धन नेपालमा पठाउने नेपालीलाई दिएको केही सुबिधा पनि कटौति गर्नु कहाँको न्याय हुन्छ ? यो सरकारको लागि बिचारणीय छ। त्यसैले सरकारले दिदै आएको झिटीगुन्टा सहुलियत, कार्गो कम्पनीहरुले नै भन्सार छुटाई सहज तरिकाले ग्राहकको ठेगानामामा पुर्याउन सकेमात्र बिस्वभरिका नेपालीहरुको सरकारप्रति आस्था र बिस्वास बढ्ने छ।