आनन्द श्रेष्ठ
न्यूयोर्क ।
क्यानाडाबाट घर आएको दोश्रो हप्ता, आफूलाई भेट्न आएकी स्कूलदेखिको साथी कुसुमसँग भलाकुसारीमा व्यस्त छिन् राधा ।
– किन्नुपर्ने, लानुपर्ने सबै सामान तयार भयो । गाडी बेच्नुछ अब । टोरोण्टो बसाइ कति हुने हो थाहा छैन ! बेक्कार, बर्षको करमै बीस पच्चिस हजार, अनि नचलेपछि फेरि ब्याट्री फेर, ज्याला देऊ, यसोउसो गर्दा तीस हजार खर्च हुन्छ । चढ्ने कोही हैन । यता आएको बेला बरू गाडी भाडामा लिएर चढुँला नि भनेको !
– ए ! तिमी गाडी बेच्ने हो ? मेरो आफ्नै दिदी पनि गाडी किन्छु भन्दैछिन् । म बेचिदिन्छु नि । कतिमा बेच्ने ?
– साँढे सात जति नगद पाए दिन्छु ।
– कति मोडेलको ? हन्डाई हैन ?
– हो, २००० मोडेलको, फूल अप्सन ।
– ए ! आठ गै हाल्छ नि, किन साँढे झुण्याउनु !
– हो र ? ल बेचिदेऊ न त सक्छौ भने ।
– यसो गर, म मेरो दिदीको अगाडि आठ चाँहि म तिम्रो हातमा हाल्दिन्छु तर दिदी गएपछि मलाई पचास दिनु पर्छ । हुन्छ ?
राधा टाउको हल्लाउँछिन् तर उनको मुटु टाउकोभन्दा बढि गतिमा हल्लिन्छ ।