प्रचण्डले तिरुवालाई सम्झने कि बिर्सने ?

पुरुषोत्तम लम्साल / भर्जिनिया

फेरि एकपटक पूर्व विद्रोही माओवादीका नेता तथा वर्तमान नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर एउटा सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार भयो । जुत्ताले कसलाई लाग्यो कि लागेन भन्ने कुरा आज गौण विषय हो । आफूलाई शहीद परिवार भएको झुठो दावी गर्ने जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि किन केको आक्रोश पोखे ? त्यो पनि गौण विषय हो । तरुवालाई द्वन्द्वपीडितको रुपमा स्थापित गर्ने केही संचारमाध्यमको असफल अभिष्ट पनि आजको बसाईको विषय होइन । उनी विप्लवनिकट अर्को नेकपासँग आवद्ध छन् कि छैनन् ? तिरुवाको आक्रोश स्वतःस्फूर्त हो वा प्रायोजित त्यो पनि बहस गर्न आवश्यक छैन । तर घृणा र आक्रोशको राजनीतिको एउटा समाजिक मनोविज्ञानलाई रतन तिरुवाले प्रतिनिधित्व गर्दछन् र त्यो विद्रूप मनोविज्ञान अनेक रुपमा यसअघि पनि प्रकट भएको थियो र भोली पनि हुनसक्छ भन्नु आजको प्रधान विषय हो ।

सन् २००८ मा इराकको राजधानी बगदादमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशमाथि जुत्ता हानियो । जुत्ता हान्ने पत्रकार अल जाइदी नायक भए । केही इराकीले उनको जयजयकार गरे । तर अमेरिकाप्रति इराकी जनताको आक्रोशको हल निकालिएन । सद्दाम हुसेन त अमेरिकाको शिकार भए तर अमेरिका इराकबीचको द्वेष अहिलेसम्म उस्तै छ । यो त विदेशको एउटा दृष्टान्त मात्र हो ।

नेपालमा नेताहरुमाथि यस्ता असन्तोष धेरैपटक प्रकट भएका छन् । यसलाइ असन्तोष प्रकट गर्ने उदण्ड शैली मात्र म भन्दिन । किनकि आममान्छे गुनासाको पोको फुकाउन नेताहरुको दैलो चाहार्दै करजोरी बिन्ति बिसाउँदै हिंड्दैन । भित्रभित्रै निस्सासिएर ‘म्याग्मा’ जस्तो भइसकेपछि त्यो कहीं पनि कुनै पनि रुप र अवतारमा प्रकट हुन्छ । धन्न ! हामीले त्यो अवतारमा अहिलेसम्म हिंसक ब्यवहार मात्र भेटेका छौं, हिंसा नै भोग्नुपरेको छैन । घृणा र असन्तोषको अभिव्यक्ति जुत्ता, चड्कन र पानीका बोतलहरुमा सीमित हुनुलार्य पनि हामीले सन्तोष मान्नपरेको छ ।

९ वर्षअगाडि एमाले नेता झलनाथ खनालको पुक्क परेको गाला देवीप्रसाद रेग्मीले चड्काए । राजनीति गर्नेहरुप्रतिको त्यो घृणा र आक्रोशको उपचार खोजिएन बरु सामान्य किसान रेग्मीलाइ कठघरामा उभ्याइयो । इटहरीमा केही एमाले कार्यकर्ताले रेग्मीलाइ भाकभुक पारेर झलनाथको शिर उँचो त न त्यतिबेला भयो न आज भएको छ ।

भृकुटीमण्डपको सार्वजनिक कार्यक्रममा प्रचण्डको गाला चड्काउने वाग्लुंगे पदम कुँवर थिए । प्रचण्डसँग उनको जानी दुश्मनी थिएन । थियो त प्रचण्डले बिर्सिएका वा बिर्सन थालेका मुद्दाहरुलाइ सम्झाउने वा सम्झना दिलाउने अराजक आक्रोश । खासमा त्यो निराशाको अभद्र अभिव्यक्ति नै थियो । त्यो घृणा र आक्रोश केही माओवादी कार्यकर्ताले कुँवरलाइ कुटपिट गरेर निमिटयान्न भएन । ‘हाँस्दाहाँस्दै रुन जान्ने र रुँदारुँदै हाँस्न जान्ने’ प्रचण्डलाइ ‘रुनु न हाँस्नु’ बनाउने पदम कुँवर खासमा एउटा प्रतिनिधि पात्र थिए र उनको आवेग एउटा दृष्टान्त थियो ।

डाक्टर बाबुराम भट्टराईमाथि पनि जुत्ता प्रहार भएकै हो । म हिरो हुन्छु र चर्चा पाउँछु भनेर मात्र सञ्जीव भट्टराईले बाबुराममाथि पक्कै जुत्ता हानेका थिएनन् । एउटा भट्टराइले अर्को भट्टराइलाइ जुत्ता हान्नु मात्र त्यो घटनाको आयाम थिएन । त्यसमा समाजको मनोग्रन्थी नै सपाट भएर घुलेको थियो । बाबुरामको शिर निहुरिंदा अरु त हाँसे होलान् तर सन्जीव भट्टराइ हाँस्न नसक्नुको पीडा सायद बाबुरामले पनि पढेनन् । बाबुराम ! अहिलेको हिजोका चुनावी मोर्चाहरुमा र त्यसपछि सन्जीव भट्टराइहरुको निराशामा मल्हम लगाउन केही पहलकदमी भयो ? भएन । आफ्ना असहमति र मतभेद शान्तिपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कार विकास गरौं । ‘लोकतन्त्रमा आलोचनात्मक चेतना हुनैपर्छतर त्यसलाई व्यक्त गर्ने तरिका पनि लोकतान्त्रिक हुनैपर्छ’ भनेर ग्रामीण पहाडका मान्छेले विरलै प्रयोग गर्ने ट्विटरमा आदर्श बयान गर्दै गर्दा सञ्जीव भट्टराईको निराशाको अभिव्यक्ति तपाईलाई याद भयो कि भएन होला ? ट्विट गर्ने तर ट्विटको जवाफ नपढ्ने आदत हो भने त केही भएन, तर राजनीतिक नेतृत्वप्रति कतिसम्म घृणा र आक्रोशको म्याग्मा जम्मा भएर बसेको रहेछ भनेर जान्न हामीले पटकपटक तपाईकै ट्विट उदाहरण लिनपर्ने अवस्थाको अन्त्य हुनपर्दैन ?

कपनको एउटा कार्यक्रममा नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति सुशिल कोइरालामाथि कांग्रेसकै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमण गरे । त्यो पनि बिद्रोह थिएन । दल र दलका नेताप्रतिको वितृष्णा थियो । तर त्यो वितृष्णाको जरा खोजिएन । समयले कोइरालालाइ अवसर दियो र उनले प्रवेश वस्नेतहरुलाइ एक थान संविधान दिलाउने श्रेय लिएर परलोक सुधारे । यसमा यत्ति नै ।

माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले पनि तीनकुनेस्थित चिया पसलमा प्रेमराज देवकोटाको गतिलै चड्कन भेटेका हुन् । ‘संविधान बनाउन बिलम्व भो’ भन्दा झक्कु कमरेडले झापड भेट्नु र समृद्धिको सपनालाइ पत्यारलाग्दो बनाउन नसक्दा बाबुरामले जुत्ताको झट्टी खानुको कारण एउटै हो निराशा र आक्रोश । झक्कु महोदयले प्रेमराज देवकोटाको झाप्पु आज सम्झिएका छन् कि छैनन् ? मलाइ ‘सही रास्ता’ देखाउने प्रेमराजहरुलाइ साक्षी राखेर आइन्दा म जनताको आशा र अपेक्षासँग खेल्दिन र अरुलाइ पनि खेल्न दिन्न भनेर सुवेदीहरुले कहिल्यै भने ? भनेनन् । समस्या यहाँनेर छ ।

नेपाली कांग्रेसका नेता रामशरण महतमाथि आफनै निर्वाचन क्षेत्रमा भएको एउटा कार्यक्रममा पानीको बोतलले महतको तालु पड्काइएको होइन । त्यो पनि निराशा, आक्रोश र घृणाकै अराजक अव्यिक्ति त थियो । यी सिलसिलाहरुले नेताहरुमा असुरक्षा महशुस गराएर मात्र पुग्छ ? पुग्दैन । यहाँ त केही राष्ट्रिय स्तरका नेताहरुको मात्र दृष्टान्त दिइएको छ, जनअपेक्षामा खरो उत्रन नसक्ने राजनीतिक दलका नेतृत्वलाई तल्लो तहबाटै जुत्ता हान्न थाल्ने हो भने भोली को को निर्धक्क भएर फुक्काफाल हिंड्नसक्लान् ? सवाल यो हो । व्यक्तिभित्र जागृत हुने आपराधिक र हिंसक मनोविज्ञानको समाधान फगत कानूनले मात्र निकाल्न सक्दैन, राजनीतिक नेतृत्वको आचार, विचार व्यवहारले पनि निकाल्न सक्दछ भनेर सचेत हुने कि नहुने ? सवाल यो हो ।  

पदम कुँवरलाई पुष्पकमल दाहालले माफी दिए । एमाले नेता झलनाथ खनालले पनि आफुलाई झापड हान्ने देवीप्रसाद रेग्मीलाई माफी दिए । सुशिल कोइरालामाथी आक्रमण गर्ने बस्नेतले पनि माफी पाए । निर्मलाहरुले पनि माफी पाए । तर माफी मात्र निराशाको हल होइन । निराशाको उपचार नेताहरु भरोशा गर्नलायक बन्नु हो । जनताका मुद्दामा खरो उत्रन नसके चड्कनभन्दा ठूलो बज्रपातले सधैं मूलबाटो कुरिरहेको हुन्छ । फेरि पनि कुँवर, बस्नेत, रतुवाहरुको घृणाको निरन्तर अभिव्यक्ति रोक्न राजनीतिक नेतृत्वले नै पहलकदमी लिने हो ।

जुत्ता प्रहार प्रकरणको अन्तर्य एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा गठित छानवीन समितिले खोज्ने होइन । कानूनको बुँदामा टेकेर अपराधजनित क्रियाकलापको व्याख्या त सहज होला तर आम मान्छेभित्रको असन्तोष र असन्तुष्टीको सम्बोधन सहज हुँदैन । हिजोका पदम कुँवर र आजका रतन तिरुवालाई उदाहरण बनाएर पनि पुष्पकमल दाहालहरुले आत्मसमीक्षा गर्नपर्दछ । तिनका आशा र अपेक्षाहरुमा पौडिएर आफूलाइ सत्ताको सुविधा लिन मात्र अभ्यस्त राख्दा मूलबाटो र चौबाटोमा तिरुवाधारी अनिष्ट ढुकेर बसिरहेकै हुन्छ ।