सेरिका थापा
काठमाडौं
३० वैशाख २०८२ का दिन अघिल्लो संसद्को एक बैठकमा स्वतन्त्र सांसद अमरेश सिंहले प्रश्न उठाए । उनले भने, ‘मुलुकमा चलिरहेको एउटा मात्र अन्तर्राष्ट्रिय काठमाडौं विमानस्थल छ, त्यसलाई पनि अस्तव्यस्त राखेर अन्तर्राष्ट्रिय बेइज्जत नगरौं ।’ धेरै नागरिकको ‘कम्प्लेन’ आएपछि आफू स्वयम् उपस्थित भएर देखेका बेथितिबारे सिंहले संसद्मा प्रश्न उठाएको उनले स्पष्ट पारेका थिए । उनले भनेका थिए, ‘त्यहाँभित्रको सबै फोटो र भिडियो खिचेर मैले ल्याएको छु, विमानस्थलमा अस्तव्यस्तताको पराकाष्ट छ ।’
उनले तत्कालीन सरकारका मन्त्री, प्रधानमन्त्रीलाई भनेका थिए, ‘एक पटक आम नागरिक भएर त्रिभुवन विमानस्थल हुँदै यात्रा गर्नुहोस्, कति बेथिति छ, आफैं पत्ता लगाउनु हुन्छ । सिंहले उठाएका मुख्य समस्या थिए, साँघुरो स्थानमा एकै पटक ८÷९ वटा जहाजको प्रस्थान तालिका र यात्रुको चेक–इन, यात्रुको अधिक भिड, चुस्त व्यवस्थापन नहुनु, आगमनका दौरानसमेत लगेज कलेक्सनमा लामो समय लाग्नु र सानो ठाउँमा एकसाथ धेरै यात्रु थुप्रिंदा हुने भिडभाड ।
सिंहले झण्डै एक वर्षअगाडि संसद्मा उठाएका यी समस्या आज पनि त्रिभुवन विमानस्थल भएर यात्रा गर्ने हरेक अन्तर्राष्ट्रिय उडानका यात्रुका साझा भोगाइ हुन् । अमेरिकाबाट हालै नेपाल आएका एक गैरआवासीय नेपालीले भने, ‘विमानस्थल व्यवस्थापनमा यति धेरै लापरबाही गरिएको छ कि स–साना चिजमा पनि जिम्मेवारी लिएका निकायले ध्यान दिएका छैनन् ।’ कम्पनीमा स्लट म्यानेजमेन्ट मात्र पनि विमानस्थलको क्षमता अनुकूल बनाउने हो भने विमानस्थलमा धेरै समस्या समाधान हुने थिए । तर, कुनै समयमा अत्यधिक भिडभाड हुने र कुनै समय कम मात्र उडान\अवतरण हुने गरी व्यवस्थापनले विमान कम्पनीहरुलाई स्लट दिँदा त्यसको मारमा यात्रु परेका छन् । त्यति मात्र होइन, मुलुक चिनाउने पहिलो नजरमै गलत ‘इम्प्रेसन’ पर्ने अवस्था रहेको उनले सुनाए । ‘हामी त यो देश यस्तै हो भनेर चित्त बुझाउँछौं’, उनी भन्छन्, ‘विदेशीले त हामीलाई हेर्ने नजर राम्रो बनाऔं न ।’

नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबारे सरकारले गठन गरेको एक उच्चस्तरीय आयोगले नै गम्भीर चिन्ता व्यक्त गरेको छ । वर्तमान पर्यटनमन्त्री अनिलकुमार सिन्हाले नेतृत्व गरेको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवम् सुझाव आयोगले गत कात्तिकमा सरकारलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘नेपालजस्तो पर्यटकीय मुलुकमा पर्यटकले भोगेका नकारात्मक अनुभवले मुलुकको अन्तर्राष्ट्रिय छवि प्रभावित भएको छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक अन्तर्राष्ट्रिय टिकटबाट ‘एयरपोर्ट ट्याक्स’का नाममा ३ हजार रुपैयाँ असुल गर्छ । यो रकम विमानस्थल र प्राधिकरणको चालु खर्च (कर्मचारीलाई तलब भत्तासहित)मा प्रयोग हुन्छ । त्यति ठूलो रकम असुल गरेपछि विमानस्थल प्रशासनको दायित्व यात्रुलाई सहज सेवा दिनु पनि हो । तर, त्रिभुवन विमानस्थल निरन्तर प्रयोग गर्ने यात्रुले यस्तो अनुभूति गर्दैनन् ।
प्राधिकरणका अधिकारीहरु भने विमानस्थल अहिले उच्चतम क्षमतामा चलिरहेका कारण चाहेरसमेत कमजोरी हुने स्वीकार गर्छन् । यसको समाधानका लागि त्रिभुवन विमानस्थलको गुरुयोजनाअनुसार कामले तीव्रता पाउनुपर्ने प्राधिकरणका एक अधिकारीले बताए । गुरुयोजनाअनुसार विद्यमान अन्तर्राष्ट्रिय टर्मिनल आन्तरिक टर्मिनलमा रुपान्तरण हुनेछ । अन्तर्राष्ट्रिय उडानका यात्रु व्यवस्थापनका लागि नयाँ टर्मिनल भवनको योजना छ ।
माछा बजार जस्तै प्रस्थान परिसर
त्रिभुवन विमानस्थलको प्रस्थान परिसर पुग्दा स्थानीय माछा बजारकै झल्को दिन्छ । एक यात्रुलाई बिदाइ गर्न १०÷१५ जनासम्म परिवारका सदस्य पुग्ने फेसन नै बनेको छ । यो भिडले एकातर्फ त्रिभुवन विमानस्थलको प्रस्थानतर्फ आम यात्रुको आवागमनमा असहजता मात्र उत्पन्न गरेको छैन, मुलुकको छविमा समेत नकारात्मक असर परिरहेको छ । हरेक दिन प्रस्थान परिसरको बाहिर भाग भरिभराउ हुन्छ । जहाँ बस्ने पर्याप्त संरचना छैनन् ।

यात्रु र उनीहरुलाई बिदाइका लागि आउने मानिसहरुको भिडले पर्यटकबीच नेपालको छवि नराम्रो बनिरहेको छ । यस समस्याको समाधानका लागि कार्यालयले पटक–पटक सूचना नै निकालेर नियन्त्रणको प्रयास गरेको त्रिभुवन विमानस्थल कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए । ‘यो कानूनका दफा देखाएर वा प्रहरी लगाएर गर्नुभन्दा पनि यात्रु र आफन्त स्वयम् सचेत भएमा समाधान हुने विषय हो,’ उनले भने, ‘त्यसकारण बिदाइमा धेरै यात्रु नआउन, खादा–माला लगाएर प्रस्थान कक्षमा नआउन सचेत गराउने काम गरिरहेका छौं ।’ एक त भिडभाड, अर्कोतर्फ थोरै मात्र इन्ट्री गेटमा हुने लामो लाइनले त्रिभुवन विमानस्थलको दरिद्रता झल्काइरहेको छ ।
बोर्डिङ पास लिएपछि ब्यागेज क्लियर नभएसम्म कुर्नुपर्ने बाध्यता
त्रिभुवन विमानस्थलमा बोर्डिङ पास लिएर ब्यागेज बुझाएपछि यात्रुलाई अध्यागमन कक्षतर्फ गइहाल्न अनुमति दिइँदैन । बरु साँघुरो क्षेत्रमा कोचाकोच गरेर भए पनि यात्रुले ब्यागेज क्लियर नहुन्जेल कुरिरहनुपर्छ । त्यसपछि मात्र इमिग्रेसनतर्फ प्रस्थानको अनुमति दिने गरिन्छ । यसले विमानस्थलको बोर्डिङ पास लिने क्षेत्रमै अनावश्यक भिडभाड बढाउँछ । नेपाल वायुसेवा निगमका एक उच्च अधिकारीका अनुसार यस्तो समस्या धेरै वायुसेवा कम्पनीको उडान एकै पटक हुने गरी तोकिएको समयमा अधिक देखिन्छ । इमिग्रेसन क्षेत्र तुलनात्मक रुपमा सुधार भएको छ । अहिले काउन्टरहरुसमेत बढाइएका छन् । तर, इमिग्रेसनका कतिपय प्रशासकीय समस्या भने अझै पनि प्रश्नकै घेरामा छन् ।
उपकरण बिग्रन्छन्, बनाइँदैन
त्रिभुवन विमानस्थलको इमिग्रेसन रहेको तलामा उक्लिसकेपछि कारणवश यात्रु तथा कर्मचारी तल झर्नुप¥यो भने अहिले तल झर्ने लिफ्टले काम गर्दैन । त्रिभुवन विमानस्थलमै काम गर्ने एक कर्मचारीका अनुसार यो लिफ्ट बिग्रिएर चल्न छाडेको ५÷६ महिना नै भइसक्यो । व्यवस्थापनले ध्यान दिन सकेको छैन । ‘अन्तर्राष्ट्रिय विमानस्थल त नाम मात्रको जस्तै छ,’ उनी भन्छन्, ‘हाम्रोमा बरु नयाँ सामान छिटो खरिद गरिन्छ, बिग्रिएको बनाउन धेरै समय लगाउने प्रवृत्ति छ ।’

सुरक्षा जाँचमा सधैं प्रश्न
सिन्हाको संयोजकत्वमा गठित उच्चस्तरीय अध्ययन आयोगले बुझाएको प्रतिवेदनले नेपालका विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम पार्दै गरिने जाँचमा प्रश्न उठाएको छ । हालै अमेरिकाबाट नेपाल आएका एक गैरआवासीय नेपालीले पटक–पटक आफूले सुरक्षा जाँचमा लापरबाही हुने गरेको अनुभव सुनाए ।
‘प्रहरीले अलि हट्टाकट्टा, सुकिलो–मुकिलो यात्रुको तुलनामा झुत्रो–झाम्रो देखिने यात्रुलाई बढी नै दुःख दिने गरेको अनुभव मैले धेरै पटक गरेको छु,’ उनले भने । अध्यागमन पार भई जहाजमा चढ्नुअगाडि प्रहरीले गर्ने सुरक्षामा हुने यस्तो लापरबाहीले सुकिलामुकिलाको भेषमा गलत गतिविधि हुँदैन भनेर कसरी विश्वास गर्नु ? उनी प्रश्न उठाउँछन् । यसको साटो सुरक्षा जाँचलाई प्रविधियुक्त बनाउनुपर्ने सुझाव उच्चस्तरीय आयोगले नै दिएको छ ।

व्यवस्थापनमा सकस
त्रिभुवन विमानस्थलमा जहाजको उडान÷अवतरणका लागि समय उपलब्ध गराउने काम नेपाल नागरिक उड्डयन प्राधिकरणको मुख्यालयबाट हुन्छ । तर, विमानस्थलभित्र व्यवस्थापनको काम भने विमानस्थल कार्यालयले गर्नुपर्छ । यी दुई निकायबीच नै समन्वय नभएको अनुभूति यात्रुले गर्छन् । त्रिभुवन विमानस्थलमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अत्यधिक भिड हुने गरी उडान\अवतरणको तालिका दिइएको छ ।
बिहान र साँझको समयमा तुलनात्मक रुपमा कम उडान\अवतरण हुने गरी स्लट राखिएको छ । राति ८ देखि ११ बजे भने अत्यधिक भिड हुने गरी समय राखिएको छ । प्राधिकरणका अधिकारीहरु काठमाडौं विमानस्थल अन्तर्राष्ट्रिय मात्र नभएर आन्तरिक विमानस्थलसमेत भएको भन्दै यी दुबै उडानलाई सहज व्यवस्थापन गर्ने गरी स्लट दिने गरिएको बताउँछन् । यहाँ आन्तरिक र बाह्य दुबै उडानका जहाजले एउटै धावनमार्ग प्रयोग गर्नुपर्छ । जसले गर्दा पिक आवरमा आकाशमा लामो समय जहाज होल्ड गराइन्छ ।
एउटै समयमा अधिक भिड हुने गरी दिइएको उडान स्लटको असर प्रस्थानतर्फ वेटिङ एरियामा अझ स्पष्ट देखिन्छ । एकै पटक धेरै भिड हुने क्षेत्रमा यात्रुले यत्रतत्र छाड्ने चिया, कफीका कप, बस्ने कुर्सीमा दाग र शौचालयमा फोहोर पनि सोही समयमा देखिन्छ । केही समयमा सफा गरिए पनि जब यात्रु र पर्यटकले आफ्नो अगाडि ती वस्तु देख्छ, त्यसरी नै विमानस्थलको छवि निरन्तर खराब बनिरहेको छ । अहिले विमानस्थलको शौचालयमा तुलनात्मक रुपमा कम प्रश्न उठ्ने गरी व्यवस्थापन मिलाइएको छ । तर, शौचालयमा आवश्यक सामानको अभाव भने यात्रुले स्पष्ट अनुभव गर्छन् ।
सार्वजनिक यातायात जस्तै नेवानिका बस
आगमनतर्फ त्रिभुवन विमानस्थलमा एरोब्रिज सुविधा छैन । सोहीकारण ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी लिएको नेपाल एयरलाइन्सले आफ्ना बसमार्फत यात्रुलाई आगमनतर्फको अध्यागमन कक्षतर्फ लैजान्छ । सो क्रममा यात्रुले काठमाडौंका सार्वजनिक बसको जस्तै अनुभव पर्यटक र हवाई यात्रुले गर्छन् । ‘कम्तीमा एउटा बसमा जति सिट छन् वा सहजै उभिन सकिन्छ, त्यति मात्र राख्न सके इज्जत हुन्थ्यो नि’, पंक्तिकारसँग जोडिएका ती गैरआवासीय नेपालीले भने, ‘खचाखच यात्रु राख्दा ब्याग बोकेका यात्रुलाई निकै असहज हुने गरेको छ ।’
घडीहरुले दिँदैनन् सही समय
विमानस्थलभित्रको बेथिति र लापरबाही कतिसम्म छ भने भित्तामा विभिन्न मुलुकको यथार्थ समय देखाउन राखिएका घडीहरुले नै सही समय बताउँदैनन् । कतिपय घडी बिग्रिएर नचलेको र कतिपय बत्तीले सही समय देखाउन नसकेको पंक्तिकार स्वयम्ले भोगेको यथार्थ हो । जसको प्रमाणका लागि तस्वीरसमेत लिइएको छ । कार्यालयका एक कर्मचारी विमानस्थलभित्र यस्ता सूक्ष्म निगरानी गरेर चुस्त राख्नुपर्छ भन्ने चेत कसैलाई पनि छैन । बरु लामो समय मर्मत नगरी नयाँ खरिदमा प्रोत्साहन गरिन्छ । सोहीकारण नेपालमा खरिद जहिले पनि विवादित बन्छ ।

ब्यागेज क्लेममा सास्ती, भन्सार जाँचपास प्रक्रियामा प्रश्न
त्रिभुवन विमानस्थलभित्र आगमनतर्फ यात्रुले अर्को महाभारत भोग्नुपर्ने स्थान ब्यागेज क्लेम कक्षसमेत हो । अहिले कन्भेयर बेल्टमा पर्याप्त लगानी गरिएका कारण बेल्ट नघुम्ने समस्या छैन । तर, साँघुरो स्थान, एकसाथ धेरै यात्रु व्यवस्थापन गर्दा आफ्नो ब्यागेज लिनसमेत यात्रुले झन्झटको सामना गर्नुपर्छ । अर्कोतर्फ टुटफुट र चोरीको समस्यासमेत विमानस्थलभित्रका निरन्तर समस्या हुन् । सिन्हा आयोगले ब्यागेज क्लेम र भन्सार क्लियर गर्ने प्रक्रियामा रहेको त्रुटिलाई गम्भीर रुपमा उठाएको छ ।
‘आगमन कक्षमा हुने भन्सार निरीक्षण प्रक्रिया निकै असहज र अपनाइएका तरिका कतिपय अनावश्यक हुनुका साथै पर्यटकका लागि अस्वाभाविक रुपमा झन्झटिलो रहेको छ,’ आयोगले भनेको छ । राजस्व असुलीलाई मात्र लक्षित गरी अपनाइएको यस्तो तरिका अन्तर्राष्ट्रिय रुपमा स्वीकार्य सुरक्षा मापदण्डअनुरुप नभएको आयोगको निष्कर्ष छ । अझ नेपालजस्तो पर्यटकीय मुलुकमा पर्यटकले भोगेका नकारात्मक अनुभवले मुलुकको अन्तर्राष्ट्रिय छवि प्रभावित भएको आयोगले जनाएको छ ।
एकातर्फ राजस्व चुहावट नियन्त्रणका लागि भन्दै पर्यटक र यात्रुलाई सास्ती दिने र अर्कातर्फ संस्थागत हुँदै गएको संगठित अपराध नियन्त्रण तथा निवारणमा उल्लेख्य भूमिका नदेखिनुको कारणमा समेत आयोगले प्रश्न गरेको छ । ‘सामान्य यात्रुले आवागमनमा ब्यागेज क्लेम गर्दा सामानको सुरक्षा र टुटफुटमा कसैले पनि कारक तत्व पहिचान गरेको, गर्ने प्रयत्न गरेको वा जिम्मेवारी दिने गरेको समेत नदेखिएका सन्दर्भमा विशेष निगरानीको आवश्यकता देखिएको छ,’ आयोगले भनेको छ ।
निजी र एयरपोर्ट ट्याक्सीको दादागिरी, निरीह प्रहरी
त्रिभुवन विमानस्थलभित्रको पार्किङमा यात्रु नपुग्दै खोसाखोस गर्न आउने ट्याक्सी चालक, विमानस्थलभित्रका हरियो नम्बर प्लेटवाला ट्याक्सीको दादागिरी अर्को समस्या हो । जसमा नेपाल प्रहरी निरीह भएर बस्छ । बरु यात्रुलाई सकेसम्म कसरी धपाउने भन्नेमा प्रहरीको ध्यान हुन्छ । विमानस्थलभित्र यात्रुको सुविधाका लागि पूर्वमन्त्री प्रेम आलेले सटल बसको व्यवस्था गरेका थिए । अहिले यो सटल बस त चल्छ । तर, ब्यागेजसहित यात्रा गर्ने यात्रुका लागि सहज छैन । सोहीकारण मुस्किलले १ किलोमिटर यात्रा गर्नसमेत ट्याक्सीले ५\६ सय भाडा असुल गर्छन् । यसबारे सिन्हा आयोगले समेत गम्भीर प्रश्न उठाएको छ ।

प्रतिवेदनअनुसार आगमन भवनबाट बाहिर निस्कनासाथ निजी सुरक्षाकर्मीले यात्रुलाई लिन आउने सवारीसाधन चढ्न नदिने र नेपाल प्रहरी मूकदर्शक बन्ने गरेको समेत आयोगले उल्लेख गरेको छ । सबै यात्रुलाई पार्किङ क्षेत्रमा जानै पर्ने गरी व्यवस्था मिलाइएको र यसो गर्नुका पछाडि हरेक सवारीसाधनबाट पार्किङ शुल्क असुल गर्ने नियत राखिएको समेत आयोगले बताएको छ ।
पार्किङ क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति नहुने र परिचय नखुल्ने निजी सुरक्षाकर्मी र भाडाका सवारीचालकले यात्रुलाई नकारात्मक व्यवहार गरिरहेको तर्फ समेत आयोगले प्रश्न उठाएको छ । ‘यस्तो व्यवहारले स्वदेशी वा विदेशी यात्रुलाई असुरक्षित महसुुस गराउनु अन्तर्राष्ट्रिय विमानस्थलका लागि स्वीकार्य नदेखिएकाले विमानस्थल सुरक्षामा यो विषयले पनि प्रश्नचिह्न लगाएको छ,’ आयोगले भनेको छ । विमानस्थल सुरक्षामा खटिएका सुरक्षाकर्मीको कार्यशैली सुरक्षा संयन्त्रको परम्परागत अभ्यासमा आधारित रहेको र यसले यात्रुलाई असहज महसुस गराएको समेत आयोगको भनाइ छ ।
‘सुरक्षा अंगहरु व्यवहारमा आफ्नै तालुकदार संगठनको नियम र कार्य निर्देशिकाका आधारमा सञ्चालित छन्, यी निकायले प्रवाह गरिरहेको सुरक्षा सेवालाई नागरिक सेवामा रहेको नियामक निकायले सुपरीवेक्षण वा नियमन गर्न सक्ने परिकल्पना गरिएको छैन,’ आयोगले भनेको छ । धेरै देशमा विमानस्थल सुरक्षामा सोही विषयमा विशेषज्ञता हासिल गरेका सुरक्षा दस्ता खटाउने गरिन्छ । नेपालमा समेत यस्तो दस्ताको माग उठे पनि सरकारले ठोस निर्णय लिन सकेको छैन । सोहीकारण विमानस्थलमा सुरक्षाकर्मीको व्यवहारलाई लिएर बेलाबेला यात्रुले प्रश्न उठाउने गरेका छन् । विमानस्थलको बाहिरी सुरक्षामा अहिले नेपाली सेना र यात्रु जाँच र ल्याण्डसाइड एरियामा खटिएको छ । भन्सारमा सशस्त्र प्रहरी खटिएको छ ।

उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले काठमाडौं विमानस्थलमा देखेका मुख्य बेथिति
१. विमानस्थलमा खटिएका सुरक्षा संयन्त्र परम्परागत छन् ।
२. प्रस्थान हलसँगै राखिएका एक्स–रे मेसिन र यात्रु स्क्रिनिङ बुथले अन्तर्राष्ट्रिय विमानस्थलको झल्को दिँदैन ।
३. सशस्त्र प्रहरीको उपस्थिति कम हुँदा सुरक्षा चुनौती ।
४. आगमन कक्षामा हुने भन्सार निरीक्षणको प्रक्रिया असहज र अपनाइएका तरिका अनावश्यक ।
५. हरेक यात्रुलाई हातले छामछुम पार्ने तरिका भन्सार सुरक्षा प्रक्रियामा अमिल्दो ।
६. पर्यटकले भोगेका नकारात्मक अनुभवले मुलुकको अन्तर्राष्ट्रिय छवि प्रभावित ।
७. सामान टुटफुट र सुरक्षामा विशेष निगरानीको अभाव ।
८. आवागमन भवनबाट बाहिर निजी सुरक्षाकर्मीले व्यक्तिगत सवारी साधन ल्याउन नदिने, जसको मूकदर्शक नेपाल प्रहरी बन्ने ।
९. सबै यात्रु पार्किङमै पुग्नुपर्ने, ताकि निजी सवारी साधनबाट पार्किङ शुल्क असुल गर्न पाइयोस् ।
१०. ट्याक्सी चालकको व्यवहारले यात्रु र पर्यटकले असुरक्षित महसुस गर्नु ।