नेपालमा चुनाव सकिएलगत्तै संसदको पहिलो बैठक बस्यो। नयाँ जोस, जाँगर र ऊर्जा बोकेका धेरै सांसदहरू साइकलमै संसद भवन पुगे। पुराना पार्टीका केही वृद्ध नेताहरू (समानुपातिकमा कोटा सुरक्षित गरेका) पनि गाडीमा सरर आए र लौरो टेक्दै संसद भवनमा छिरे। पत्रकार मित्रहरूले नेपालीमा प्रश्न सोधे पनि अंग्रेजीमा उत्तर दिने सांसदहरू थुप्रै रहेछन्।
संसदको पहिलो बैठक हेर्नलायक थियो। मैले उठाउन खोजेको आजको प्रसंग चाहिँ त्यहाँ नेताहरूले के–के बोले भन्नेमा केन्द्रित छ। स्वतन्त्र पार्टीका रइ दाइले नरम शैलीमा गरम कुरा गरे। कांग्रेसले पनि राम्रै सन्देश दियो। ज्ञानकुमारले “राजा चाहियो” भनेर कुर्लिए। थर्कले घुमाउरो पारामा थर्काए। वर्षमानले उपसभामुखको कोटा हात पार्न चिल्लो दले।
नेपका हेमालेका वरिष्ठ कार्यवाहक उपाध्यक्ष हरामबहादुर झरीले भने संसद भवनलाई नयाँ रौनक दिए। उनी बुरुक्क उफ्रिए, थचक्क बसे, टाउको समाते, निधार खुम्च्याए, इजार कसे र अर्कैले लेखिदिएको वक्तव्य पढ्न थाले। वक्तव्यभन्दा पनि नयाँ सरकार र त्यो सरकार बन्नका आधारबारे कान पाक्ने कथा सुनाए।
रास्वपा विजयी हुनुमा सुशीला सरकारले खाजा बाँडेको थियो भने, अमेरिकाले पानी बाँड्यो भने, तिब्बतले तरकारी बाँड्यो भने। ‘एल्गोरिदम’ भन्ने देशबाट लाखौं मानिसहरूले अनधिकृत प्रवेश गरी भोट हालेको तथ्यसमेत खुलाए। सेनाले कठालो समातेर रास्वपालाई भोट हाल्न लगाएको प्रमाण पनि पेस गरे। रोस्ट्रममा उभिएर हरामबहादुरले बोलेको सुनेर उता चित्त दुखेर पित्तको ढुंगा निकाल्न अस्पताल भर्ना भएका ‘बा’ को बादल फाट्यो।
जे होस्, चुनाव सकियो। परिणाम आयो। नयाँ सरकार बन्यो। कसैको आशा पलाएको छ भने कसैको दशा चम्किएको छ। एक पटक जनताले फरक स्वादको म:म: खान रहर गरेका छन्। तात्तातो म:म: खाने रहरमा जिब्रो नपिल्सियोस्।
नयाँ सरकारलाई मयालु शुभकामना।
(व्यङ्ग्य लेखक दाहाल ‘नुन–चिनी–पानी’ का परिकल्पनाकार हुन्।)