कल्पना घिमिरे
न्यूयोर्क
कुनै बेला सायद बिमलाले कल्पनासम्म गरेकी थिइनन्, विश्व अर्थतन्त्र, व्यापार, सञ्चार र अवसरको केन्द्र अमेरिकाको न्यूयोर्क शहरमा आफ्नै रेस्टुरेन्ट हुनेछ र त्यही रेस्टुरेन्टकै माध्यमबाट आफू चर्चा परिचर्चाको शिखरमा पुगिनेछ भन्ने ।
अहिले उनी न्यूयोर्कमा एक उत्कृष्ट व्यवसायीमा दर्ज भएकी छिन् । न्यूयोर्क शहरभित्रका २५ हजारभन्दा बढी रेस्टुरेन्टबीच बिमला हमाल श्रेष्ठको रेस्टुरेन्ट (नेपाली भान्छा घर) १०० उत्कृष्ट रेस्टुरेन्टको सूचिमा परेको छ । जुन नेपालीको बाक्लो बस्ती रहेको ज्याक्सन हाइट्समा अवस्थित छ ।
सन् २०२६ को न्यूयोर्क टाइम्स म्यागेजिनले तयार गरेको सय वटा रेस्टुरेन्टको सूचिमा आफ्नो स्थान बनाउनु बिमलाका लागि सामान्य थिएन ।
निरन्तरको मेहनत र लामो समयको संघर्षले मात्रै यो सफलता हात पारेको उनी बताउँछिन् । उनले गरेको व्यवसाय कर्मले अन्तर्राष्ट्रियस्तरसम्म नेपाली समुदायको नाम रोशन गरिरहेको भन्दै विभिन्न नेपाली संघसंस्थाले उनलाई शुभकामना र हौसला दिइरहेका छन् । अहिले उनलाई भेट्न रेस्टुरेन्टमा थुप्रै खालका समूहहरु आइरहेका छन् ।
न्यूयोर्क टाइम्समै काम गरिरहेका विद्यार्थी भाइबहिनीहरु आएर रेस्टुरेन्टको सबै खानाको स्वाद लिने र कुराकानी गर्ने गरिरहेका छन् । ‘हिजो मात्रै गोरेहरुको एक ग्रुप आएर अन्तरवार्ता लिए, आधा घण्टा अन्तरवार्ता लिएको मलाई ५ सय डलर दिएर गए’, खुसीले गद्गद् हुँदै उनले सुनाइन्– ‘मेरो रेस्टुरेन्टबारे पत्रपत्रिकामा आउन थालेपछि वर्षौंवर्षदेखि ज्याक्सन हाइट्स आसपासमा बसोवास गरिरहेका र पहिले कहिल्यै नभेटेका नेपालीहरु भेट्न आइरहनुभएको छ ।’ केही राणा परिवारका सदस्यसमेत रेस्टुरेन्टमा आएर आफूलाई भेटेको उनी बताउँछिन् ।
नेपाली स्वाद, संस्कृति र पहिचानलाई विश्वमाझ स्थापित गरिरहेको नेपाली भान्छा घरको यो सफलता सम्पूर्ण नेपाली समुदायका लागि गर्वको विषय बनेको छ ।
यसअघि पनि बिमलाको रेस्टुरेन्टले पाँच पटकसम्म ‘मम क्रल’ जित्दै आएको थियो । न्यूयोर्क सिटीले हरेक वर्ष आयोजना गर्दै आएको मम क्रल (मम प्रतियोगिता)मा ३३ भन्दा बढी नेपाली रेस्टुरेन्टहरु भाग लिंदै आएका छन् । त्यसमा बिमलाको रेस्टुरेन्ट ५ पटकसम्म उत्कृष्ट मम जित्न सफल भएको थियो । के–कसरी मापन गर्ने भन्नेबारेमा आफूहरुलाई जानकारी नै नहुने पनि उनले बताइन् ।
‘मेरो रेस्टुरेन्टमा नेपाली मात्र होइन अन्य विभिन्न मुलुकका थुप्रै ग्राहकहरु आउँछन् । रेस्टुरेन्टमा आउने सबै ग्राहक हाम्रा लागि समान हुन् । उनीहरुकै सेवामा हामी सधैं व्यस्त हुन्छौं । कतिबेला को आएर के–के छानबिन गरेर गए थाहै भएन ।’
उनी आफ्नो अनुभव सुनाउँदै थिइन्, ‘न्यूयोर्क टाइम्समा १०० को सूचीमा मेरो रेस्टुरेन्ट परेको छ भन्ने मलाई थाहै थिएन ।
न्यूयोर्क नेपाली काम पोस्टको भाइ लेलिन कँडेलले ‘नेपाली भान्छाघरलाई धेरै बधाई न्यूयोर्क टाइम्सको १०० रेस्टुरेन्टहरुको सूचीमा पर्न सफल भएकोमा‘ भनेर फेसबुकमा पोस्ट गर्नु भएछ । त्यो स्टाटस मेरो साथीले देखेर मलाई स्क्रिनसट पठाउँदा म झसङ्ग भएँ । पहिले त के हो भन्ने पनि थाहा भएन ।’
स्याङ्जाको वालिङमा जन्मिएकी बिमला सन् २००८ मा अमेरिका आएकी थिइन् । बिमलाका शुरुवाती दिनहरु पटक्कै सहज थिएनन् । काम पाउन गाह्रो थियो । एउटा इन्डियनको घरमा घरेलु कामदारको रुपमा काम गरेर अमेरिकामा संघर्ष शुरु गरेकी थिइन् । आफूले केही व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने हुटहुटीले ४ जना साथीहरुसँग मिलेर सन् २०१५ मा नेपाली भान्छाघर स्थापना गरेकी हुन् ।
एक्लो जीवनमा धेरै दुःख र संघर्षपछि मात्रै यो अवस्थामा आइपुगेको उनी सम्झिन्छिन्, ‘पार्टनरहरुको विश्वासमा सबै छोडी दिँदा उनीहरुले नै फसाएर रेस्टुरेन्ट बन्द गर्नुपर्नेसम्मको अवस्था आएको थियो । उनले लङआइल्याण्डमा काम गर्दागर्दै रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी थिइन् । साथीहरुको समेत पैसा आफैंले हालिदिएर रेस्टुरेन्टमा लगानी गरेकी उनी हप्तामा एकदुई दिन आएर रेस्टुरेन्ट हेर्ने गर्थिन् । त्यसैबीच पार्टनरहरुले भाडा नतिरेर घरबेटीले रेस्टुरेन्ट नै बन्द गरिदिएको थियो । त्यसपछि उनले एक्लै पुनः सञ्चालन गरेकी हुन् ।

उनका अनुसार, आफूले पूरै विश्वास गरेर रेस्टुरेन्ट जिम्मा लगाएका पार्टनरबाटै ठूलो धोका पाएकी थिइन् । उनी आफैंले साथीहरु सबैको पैसा हालिदिएर रेस्टुरेन्टको पार्टनर बनाएकी थिइन् । तर ती साथीहरु मिलेर रेस्टुरेन्टमा बिमलाको कुनै स्वामित्व नरहने र रेस्टुरेन्टमा हकदाबी गर्न नपाउने गरी झुक्याएर कानुनी कागजात तयार पारेछन् ।
‘बैंकबाट पैसा झिक्नको लागि कागजात मिलेन साइन गरिदिनु भन्दै भुर्तेल ल फर्ममा पठाए । त्यहाँ पुग्दा वकिलले सबै बताएपछि म त छाँगाबाटै खसें’, उनी आफ्नो जीवन भोगाइ सुनाउँदै थिइन् । केही गर्न खोज्दा खाली दुःख र अप्ठेरो मात्रै आउँथ्यो । भगवान पनि मेरो पक्षमा छैनन् भन्ने लाग्थ्यो ।’
उनले एक्लै चलाएको रेस्टुरेन्टको व्यापार राम्रै चलेको थियो । सन् २०२० मा कोभिड आएर २ महिना रेस्टुरेन्ट बन्द गर्नु प¥यो । पछि रेस्टुरेन्ट खोले पनि ग्राहक कोही आउँदैन थिए । अनलाइनबाट अर्डर लिएर सामान पु¥याउन घरघर जान्थिन् । उनले कोरोनाको समयमा धेरै नेपालीलाई खाना दिएर सहयोग गरेकी थिइन् । त्यति मात्र होइन ज्याक्सन हाइट्स नजिकै रहेको एल्मष्र्ट हस्पिटलमा कार्यरत डाक्टरहरुलाई समेत निशुल्क खाना खुवाएर सहयोग गरेकी थिइन् ।
उनी बिहान सबेरैदेखि रातको १२÷१ बजेसम्म काम गरिरहेकी भेटिन्छिन् । ग्राहकको मेनुअनुसारको खाना पकाउने, रेस्टुरेन्टमा आवश्यक पर्ने सामान किनमेल गर्ने र ग्राहकको सेवामा खटिने सबै आफैं गर्छिन् ।
एकातिर कडा मेहनत र लगनशीलताले उनलाई सफलता, चर्चा र सम्मानको उचाइमा पु¥याइरहेको छ भने अर्कोतिर उनको जीवनको अर्को पाटो उत्तिकै पीडादायी छ । अमेरिका आएदेखि आजसम्म उनले नेपाल फर्कने अवसर पाएकी छैनन् ।
३ वर्षकी छोरी, ६ वर्षको छोरो र श्रीमान् छोडेर परदेसिएकी बिमलाले न त आफ्ना सन्तान र परिवार नै भेट्न पाएकी छिन् । सफलताको शिखर चुमिरहेकी बिमलाको मनको एउटा कुनामा भने परिवारबाट टाढिनुपरेको पीडा आज पनि उत्तिकै गहिरो भएर बसेको छ । तर उनी निराश छैनन्, ‘एक दिन त भेट अवश्य होला नि,’ उनी मुस्कुराउँछिन् ।