अक्सिजन नभएको भन्दै अस्पतालले धमाधम हात उठाउन थाले

काठमाडौं । अक्सिजनको चरम अभाव अब काठमाडौं उपत्यका भित्रका अस्पतालहरुमा देखिन थालेको छ । मंगलबार काठमाडौंका विभिन्न अस्पतालले अक्सिजन नभएको भन्दै हात उठाएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले अक्सिजन सप्लाई गर्ने संस्थाको मेसिन बिग्रिएको भन्दै तत्काल अक्सिजन उपलब्ध नहुने सम्भावना भएको बताएको छ ।

उसले अस्पतालमा अक्सिजन अपुग हुने भन्दै बिरामीलाई आफ्नो व्यवस्था गर्न भनेको छ । अक्सिजन अभावकै कारण बिरामीलाई डिस्चार्ज गर्न लागिएको र सम्बन्धित निकायहरुमा खबर पुर्‍याइएको समेत अस्पतालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उता, ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालले समेत कोभिड र नन कोभिड बिरामीको उपचारमा प्रतिदिन ४५० देखि ५०० सिलिण्डर अक्सिजन चाहिने भन्दै सरकारबाट प्राप्त भएको १०० सिलिण्डर कोटाले उपचार पर्याप्त गर्न नसकिने बताएको छ । मेडिसिटीले अक्सिजन अभाव भएपछि नयाँ बिरामी भर्ना लिन नसकिने भन्दै हात उठाएको छ ।

अस्पतालले यसबारे स्वास्थ्य मन्त्रालय, सिसिएमसी र सरोकारवाला निकायलाई अनुरोध समेत गरेको छ । दूर्गम भेग र तराईका बढी भिडभाड हुने अस्पतालमा समेत अक्सिजनको चरम अभाव छ । सोहीकारण कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारमा चूनौति थपिएको छ ।