काठमाडौं । अछाममा दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुवै जना २० वर्षभन्दा कम उमेरका छन् । सोहीकारण पहिचान खुलाइएको छैन । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षिया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो ।
शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उहाँहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका छन् । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागि स्थानीय प्रशासनसँग माग गरेको छन् । शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन् । मृतक दुवै जना एउटै परिवारको हुन् ।
मृतक सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् । शङ्कास्पद व्यक्तिका बारेमा परिवारका सदस्यले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् ।