अत्यधिक गर्मीका कारण तराईमा विद्यालयहरु बन्द गरिँदै

काठमाडौं । लगातार बढिरहेको गर्मीका कारण तराईमा विद्यालय बिदा दिन थालिएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि बिदा दिएको नगर प्रमुख केदार भण्डारीले जानकारी दिएका छन् ।

गर्मीका कारण बालबालिकालाई सम्भावित विभिन्न समस्याबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको हो । भोक्राहा नरसिंह गाउँपालिकाले समेत गर्मीका कारण विद्यालयमा बिदा दिएको छ । इटहरी उपमहानगरले समेत दुई दिनका लागि बिदा दिने निर्णय गरेको छ। प्रतिकूल मौसमका कारण अत्यधिक गर्मीले पठनपाठनमा असहज स्थिति आएको भन्दै जेठ १८ र १९ गते बिदा दिने निर्णय गरिएको हो । उता, बाराको जितपुर सिमरा उपमहानगरपालिकामा समेत गर्मी छल्न विद्यालयमा विदा दिइएको छ ।