अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आज अपराह्न चार बजेका लागि बैठक आह्वान भएको हो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक घोषणा गर्दै संसद विघटन खारेज गरिदिएको थियो ।

अदालतले ११ फागुनमा यस्तो आदेश दिएको हो । अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको थियो । सोहीअनुसार पुनः सरकारको सिफारिसमा राष्ट्रपतिबाट नयाँ मिति तोकिएको हो । आजको बैठकमा अन्यौल भने हुनेछ । नेकपा दुई खेमामा बाँडिएको छ । तर औपचारिक रुपमा विभाजित भएको छैन । दुवै नेकपाका आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक छन् । तर, उनीहरुलाई बस्न राखिएको लहर सत्ता पक्षतर्फ नै छ ।

धेरैले आफ्नो कदम गलत सावित भएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजिनामा दिन्छन् भन्ने आंकलन गरेका थिए । तर प्रधानमन्त्री त्यसो नगरी विश्वासको मत पनि नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने तयारीमा छन् । सोहीकारण संसद बैठकपछि राजनीतिक परिदृष्य अझ पेचिलो बन्दै जाने देखिएको छ ।