अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतलाई दिएको दवावप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक संजालमा धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सर्वोच्च अदालतलाई दवाव दिएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै सभालाई हेरेर आफ्नो पक्षमा फैसला गर्न आग्रह गरेका थिए । आफ्नो पक्षमा फैसला नआए आन्दोलनमा जाने चेतावनी समेत उनले दिन भ्याए । कांग्रेस प्रवक्ता शर्माले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दवावको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदिय गरिमा विपरित छ ।’ प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सकिए शनिबार विराटनगर गरेका छन् । जहाँ बोल्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूभन्दा बाहिर गए आन्दोलन चर्काउने चेतावनी दिए ।

उता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनले कम्युनिस्ट सरकार गिराउन कम्युनिस्ट नै लागेका बेला कांग्रेस मौन बस्न नहुने बताए । सुनसरीको इनरुवाको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमाथि आपत् आइलाग्दा अदालतलाई जे गर्छस् गर भनेर छाड्न नमिल्ने बताए। संविधान मासेर देशलाई अस्थिरता निम्त्याउन नपाइने उनको तर्क थियो ।