काठमाडौं । अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार भएको छ । निर्वाचन आयोगले काठमाडौँसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको बताएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, कास्की, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ। सरकारले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी गरिरहेको छ । यसमा अहिले आयोग तयारीको काममा जुटेको हो ।