अनियमितता गरेको प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : गृहमन्त्री

१० जेठ काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफुमाथि उठेको प्रश्नको स्पष्टीकरण दिएका छन् । उनले आज एक भिडियो सन्देश जारी गर्दै आफुले आर्थिक अनियमितता गरेको प्रमाणित भए मन्त्री पदमात्र नभएर राजनीतिबाटै राजिनामा दिने बताएका छन् । उनीमाथि अध्यागमन विभागको सेटिङमा भिजिट भिसामा विदेश मान्छे पठाउँदा कमिसन लिएको र त्यो कार्यमा मन्त्रीको सचिवालयका मानिस समेत जोडिएको भन्दै आरोप लागिरहेको छ ।

उनले आजै संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताएका छन् । गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेवित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजीर नबस्ने दावि समेत गरे । आफुविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको दावि समेत लेखकको छ । तर, उनको दल स्वयमः नेपाली कांग्रेसका नेताहरुले समेत राजिनामा दिएर सघाउन सार्वजनिक रुपमै आह्वान गरिसकेका छन् ।