अन्ततः टाउको गनेर टुंग्याइयो जसपाको आधिकारिकता विवाद

Photo : Ekantipur.com

काठमाडौं । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमाथि प्रहार गर्न थालेपछि शुरु भएको जनता समाजवादी पार्टीको किचलो अन्ततः टाउका गनेर छिनोफानो गरेसँगै टुंगिएको छ । अब डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले आधिकारिक रुपमा पार्टीको संस्थापन पक्ष बनेको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवादलाई केन्द्रीय कार्यकारिणी समितिको सनाखतका आधारमा आधिकारिकता प्रदान गरेको हो ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोगले जानकारी दियो । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमा बोलाएर सनाखत लिएको हो ।

५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गरे । महन्थ ठाकुर पक्षमा १६ जनाको मात्र हस्ताक्षर भयो । टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका रेशम चौधरी भने तटस्थ बसे । यादव पक्षले आधिकारिकता पाएसँगै अब ठाकुर पक्षले नयाँ नाम र चुनाव चिन्ह लिएर नयाँ दल खोल्न सक्नेछन् ।