अन्ततः रोनाल्डोको टीम पोर्चुगल विश्वकपमा छनोट, अरु कुन-कुन देश छानिए ?

काठमाडौं । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले कतार विश्वकपका लागि टिकट पक्का गरेको छ । नियमित छनोटबाट असफल भएको पोर्चुगल प्लेअफमा खेलेको थियो । जसको फाइनलमा नर्थ म्यासेडोनियालाई २-० ले हराउँदै पोर्चुगल विश्वकपमा छनोट भएको हो ।

फिफा विश्वकप २०२२ यसै वर्ष कतारमा आयोजना हुनेछ । पोर्चुगललाई विश्वकपमा पुर्‍याउन ब्रुनो फर्नान्डेसले ३२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले कप्तान कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गरे । ब्रुनोले नै ६५औं मिनेटमा गोल गर्दै टीमको जित निश्चित बनाए । म्यासेडोनियाले यसअघि युरो च्याम्पियन इटालीलाई हराउँदै फाइनलमा पुगेको थियो ।

युरोपेली छनोटको प्लेअफबाट पोल्यान्ड पनि विश्वकपका लागि छानिएको छ । पोल्याण्डले स्वीडेनलाई हरायो । पोल्यान्डको जितमा रोबर्ट लेवनडोस्कीले पेनाल्टीबाट पहिलो गोल गरेपछि पिटर जिलिन्स्कीले दोस्रो गोल थपे ।अफ्रिकाबाट भने त्यहाँको च्याम्पियन सेनेगल, क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया विश्वकपका लागि छनोट भएका छन् । साडियो मानेले टाइब्रेकरमा गोल गरेपछि सेनेगलले इजिप्टलाई हराएर विश्वकपको टिकट काटेको छ ।