काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र बंगलादेश भिड्दैछन् । एक साता अगाडी बंगलादेश पुगेको नेपाली राष्ट्रिय फुटबल टिमले आज नेपाली समय अनुसार पौने ५ बजे बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीच ढाकास्थित बंगबन्धु रङ्गशालामा प्रतिस्पर्धा हुनेछ ।
मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज नाम दिइएको यस सिरिजमा नेपाल र बंगलादेशबीच दुई खेल हुनेछन् । पहिलो खेल आज हुनेछ । दोस्रो खेल भने मङ्सिर २ मा रहेको छ । कोरोना भाइरसको महामारीपछि नेपाल पहिलो पटक अन्तर्राट्रिय प्रतियोगितामा खेल्न लागेको हो ।
बंगलादेशसँग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरीयतालाई महत्व दिएको छ । नेपाल र बंगलादेशबीच कुल १९ पटक प्रतिस्पर्धा भएको छ ।
यसमा १२ पटक बंगलादेश विजयी भएको छ । नेपालले ६ खेल आफ्नो पक्षमा पारेको छ । १ खेल बराबरी भएको छ । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा साफ च्याम्पियनसिप अन्तर्गतको भिडन्तमा नेपालले बंगलादेशलाई हराएको थियो ।