अन्तरिम सरकारका लागि जेन-जीले आज पनि दिन सकेनन् साझा नाम, अनेक नाममा लफडा

rss

२५ भदौ, काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा जेन जीहरुबीच नै चरम असन्तुष्टि देखिएको छ । उनीहरुले बुधबार साझा नाम टुङ्गो लगाउन सकेनन् । यसले राजनीतिक रिक्तता र अन्यौलता अझ लम्बिएको छ । विवादित जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराए । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी समेत गरे । उनीहरुलाई सो शैलीले नेतृत्व चयन नहुने भन्दै सम्झाएको छ ।
‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला,’ सेनाका प्रतिनिधिले भनेका छन्, ‘एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।’ बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव गरेका थिए । तर, बाहिर भेला भएर युवाहरुले त्यसविरुद्ध नाराबाजी गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका नामहरु समेत लिइरहेका छन् । कतिपयले हर्क साम्पाङलाई बनाउन जोड दिएका छन् । जेन जी समूहको भर्चुअल बैठकमा समेत कार्कीको नाममा करीव सहमती देखिएको थियो ।