अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढेको प्रधानमन्त्रीको दावि

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार सत्तामा आएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र विश्वसनीयतामा उल्लेख्य वृद्धि भएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७४औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल र नेपाली जनताको हित प्रवद्र्धनमा केन्द्रित भएर अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, सबै देशबाट अधिकतम सद्भाव, समर्थन अनुकूल अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्ने लक्ष्य राखेको उनको भनाई छ ।

प्रधानमन्त्री देउवाले कोभिड १९ ले निम्त्याएको सीमितताका बाबजुद सरकारले अन्तर्राष्ट्रिय संलग्नतालाई तीव्रता दिइरहेको बताए । विदेशी फोरमहरूमा नेपालको सक्रिय र अर्थपूर्ण सहभागिताले हाम्रो अन्तर्राष्ट्रिय दृश्यता बढाउन मद्दत गरेको उनको भनाइ छ। सरकारले घोषणा गरेको साझा न्यूनतम कार्यक्रमले कार्यान्वयन गर्नुपर्ने प्रमुख प्राथमिकता उल्लेख गर्दै उनले भने, ‘राष्ट्रिय र जनताको हितको संरक्षण तथा प्रवद्र्धन सरकारको प्रमुख प्राथमिकतामा रहेको छ।’

उच्च र समतामूलक आर्थिक विकास, सामाजिक–आर्थिक रूपान्तरणको आधारशिला निर्माण, सङ्घीयताको कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेलगायतका विषय सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मापदण्डहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको परराष्ट्र नीतिले मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरे । उदार, नियममा आधारित, न्यायोचित, निष्पक्ष र सहकारी विश्वव्यापी व्यवस्थाको वकालत गर्न जारी राख्ने प्रधानमन्त्रीको भनाइ छ।