अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको बौद्धमा प्रदर्शन


अमृता के सी ( रोनी )
काठमाडौँ/५६ औँ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा दण्डहिनता नै जातिय विभेदको जड भन्ने मुल नाराको साथ मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण प्रदर्शन गरेको छ।
समाजले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्तुपाको गेटमा आइतबार एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो।५० जना भन्दा बढीको सहभागिता रहेको प्रदर्शनमा सहभागीहरुले जातिय छुवाछुत अन्त्य गरौ, मानवअधिकार रक्षा गरौ , सबैका लागि सबै अधिकार , मानवअधिकार दलित अधिकार, लगायतका नारा अंकित प्ले कार्ड सहित शान्ति पूर्ण प्रदर्शन गरेका थिए।

मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाका सचिव इश्वर पुडासैनीले संचालन गरेको सो कार्यक्रममा प्रमुख अतिथिमा बागमती प्रदेश सभा सदस्य तथा दलित अभियन्ता कल्पना नेपाली रहेकी थिइन् भने कार्यक्रममा विशेष अतिथिका रुपमा बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा, मानवअधिकार तथा शान्ति समाज पुर्व महासचिव कुमार राज सुवेदी, समाजसेवी भुवन लामा ,नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, शान्ति समाजका निवर्तमान सभापति तथा सल्लाहकार उत्तम पुडासैनी, पुर्व सभापति होमकान्त चौलागाईं, वर्तमान महासचिव रामकृष्ण बराल तथा शान्ति समाजका पूर्व तथा वर्तमान पदाधिकारीको उपस्थिति रहेकोे थियो।
कार्यक्रममा दलित अभियन्ता तथा बागमती प्रदेश सभा सदस्य कल्पना नेपालीले जातिय भेदभाव र छुवाछुत अन्त्य बिना मुलुकको विकास हुन नसक्ने बताईन्।उनले नेपालीले मन्दिर बनाउने शिल्पकारहरुले मन्दिर छिर्न पाउँदैनन्, लुगा सिलाउने मान्छेहरुले नाँगो हिड्नु परेको र जुत्ता सिलाउनेहरु खाली खुट्टा हिड्न बाध्य रहँदा समेत राज्यसत्ताले उनीहरुको उत्थान र समान अधिकार उपभोगमा ध्यान पुर्‍याउन नसकेको बताएकी थिइन् ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जातिय भेदभाव र छुवाछुत अन्त्यका लागि प्रतिबद्धता जनाउदै कानून भन्दा माथि कोही नहुने हुदा कानूनले बर्जित गरेको जातिय छुवाछुत अन्त्यका लागि सामाजिक चेतना अभिबृद्धि गरि सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए।