काठमाडौं । सरकारले विभिन्न देशमा कार्यरत नेपाली राजदूतलाई मुलुकमा परेको संकटका बेला सहायता जुटाउने काममा लाग्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले राजदूतहरुलाई यस्तो निर्देशन दिएको हो । अन्तरा्रष्ट्रिय समुदायबाट कोरोना विरुद्धको खोप, औषधि र अरु स्वास्थ्य सामग्री सहयोगस्वरुप जुटाउने प्रयासमा लाग्न सरकारले राजदूतलाई निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले १३ देशका नेपाली राजदूतसँगको भर्चुअल बैठक गरेका थिए । उनले बैठकमा खोप, अक्सिजन, औषधि र अरु स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय सहायतास्वरुप नेपालका निम्ति जुटाउन निर्देशन दिएका छन् ।
महामारीका कारण उत्पन्न संकट तथा देशको वर्तमान आवश्यकतालाई दृष्टिगत गरी द्विपक्षीय र बहुपक्षीय तहका साथै परोपकारी संस्था, निजी क्षेत्र एवं प्रवासी नेपालीबाट सहायता जुटाउनका लागि अधिकतम प्रयत्न गर्न उनले निर्देशन दिए । उनले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राखेर काम गर्न समेत भनेका छन् ।
उता, सरकारले विदेशी समुदायलाई अपिल र पत्राचार गरेसँगै सहयोग आउने क्रम समेत बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चीन, अमेरिका, युरोपेली युनियन, बेलायत, बंगलादेश, फिनल्याण्ड, थाइल्याण्डबाट सहयोगको प्रतिबद्धता आएको छ ।