काबुल । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको छ । बीबीसीका अनुसार पेन्टागनले यसको पुष्टि गरेको हो । पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएका हताहतीबारे स्पष्ट नभएको बताए। विस्फोटबारे थप विवरण प्राप्त हुनासाथ जानकारी गराइने उनको भनाई छ । हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको खबर आएको हो ।
पश्चिमा मुलुकहरूले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा आतङ्कवादी हमला हुन सक्ने भन्दै सचेत गराएका छन्। उद्धारको आशामा विमानस्थलमा अझै हजारौँ मानिस कुरिरहेका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अनुसार बुधवार करिब साढे १३ हजार मानिसलाई उद्धार गरिएको छ।
योसँगै अमेरिका र उसका साझेदारहरूले अगस्ट १४ तारिखयता उद्धार गरेका मानिसहरूको सङ्ख्या ९५ हजार सात सय पुगेको छ।