काठमाडौं । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई सञ्चालित भई अफवाहपूर्ण सामाग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई कारबाहीको लागि सिफारिस गरेको छ ।
निराधार, अफवाह र अतिरञ्जनापूर्ण शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन भएकोले कारबाही प्रक्रिया अघि बढाइएको काउन्सिलले जनाएको छ।
मिडियाअन्तर्गत आवद्ध नभएका सामाजिक सञ्जाल (युट्यूब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले यसअघि सञ्चार माध्यमको आवरणमा सर्वसाधारणलाई त्रसित र आतंकित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै मंसिर ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।