अब काठमाडौं महानगरमा पनि सुरु भयो स्वास्थ्य बीमा

काठमाडौं । काठमाण्डौ महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । यसको लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच हिजो समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सबै वडा कार्यालयहरुमा कर्मचारीलगायतका अरु प्रक्रिया पूरा गरेर केही दिनमै बीमाको काम शुरु गर्ने तयारी भैरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुले बीमा बोर्डमा सूचीकृत भएर बीमा अन्तर्गतको स्वास्थ्य उपचार दिन थाल्नेछन् । ती केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ ।

महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् । बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् । काठमाण्डौका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकबाहेक देशभरका सबै पालिकाहरुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भैसकेको छ ।