अब कुटनीतिक पत्र परराष्ट्र मन्त्रालयबाट मात्र आदान-प्रदान

काठमाडौं । सरकारले अब विदेशी कूटनीतिक नियोगलाई गरिने सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय औपचारिक रुपमा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अब अरु निकायबाट पत्राचार गर्न नपाउने गरी निर्णय भएको छ । विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र गरिने पनि बैठकले निर्णय गरेको हो । अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सँग सम्बन्धित नेपाली सेनाले अमेरिकी राजदूतावासमा गरेको पत्राचार विवादमा परेपछि सरकारले सबै पत्राचार परराष्ट्र मन्त्रालयबाट मात्र गर्ने निर्णय गरिएको बताइएको छ ।

अन्य सरकारी निकायहरुले पनि आफ्ना सरोकारका विषयमा कूटनीतिक नियोगमा पत्राचार गर्दै आएका थिए । नेपाली सेनाले सन् २०१५ र २०१७ मा सरकारको तर्फबाट भन्दै अमेरकी राजदूतावासमा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षरसहितको पत्र पठाएको थियो । उक्त पत्रबारे आफूले जानकारी नै नपाएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । यससँगै सरकारले अब विदेशमा हुने पत्राचार औपचारिक माध्यमबाट मात्र गर्ने निर्णय गरेको हो ।