काठमाडौं । नेपालमा अब कोरोनाको परिक्षण सातै वटै प्रदेशबाट हुने भएको छ । नमुना परिक्षण गर्न अब काठमाडौं आइरहनु पर्ने झण्झट हटेको छ ।
सरकारले (बिहीबार) देखि कोरोना परीक्षण प्रयोगशाला देशका सातै प्रदेशमा सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारबाट सबै प्रदेशमा प्रयोगशालाले काम गर्न थाल्नेछन् ।
प्रदेश १ को धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबाबाट कोरोना परीक्षण शुरु भएको हो । पोखरामा बुधबार कोरोना परीक्षण सुरु भएको हो ।
हेटौंडामा प्रयोगशालाका उपकरण तथा जनशक्ति व्यवस्थापन भइसकेको छ । यो प्रयोगशाला बिहीबारबाट संचालन हुनेछ ।
प्रदेश २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर ५ को बुटवलमा पनि बिहीबारबाटै कोरोना परीक्षण सुरु हुने मन्त्रालयको भनाई छ ।
प्रयोगशाला सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा उपकरणसहित जनशक्ति खटाएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
काठमाडौंमा भने कोरोना परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भइरहेको छ । यसअघि काठमाडौं बाहिरबाट नमुना टेकुमै ल्याउनु पर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ ।