काठमाडौं । अबदेखि चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ । जसमा चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरूमा मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश अनिवार्य छाप्नुपर्ने व्यवस्था राखिएको छ ।
यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था थियो । जुन व्यवस्था संशोधन गर्दै स्वास्थ्यमन्त्री प्रदी पौडेलले शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् । ‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भने, ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं ।’
यस्ता चेतावनीमूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरूले देखाएका छन् । नेपालमा हरेक वर्ष ३७ हजारको सूर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्यांकमा छ । नेपालले यसअघि ७५ बाट ९० प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश पुर्याउँदा ब्लुमबर्ग अवार्ड समेत प्राप्त गरेको थियो ।
निर्देशिका अनुसार चुरोटको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा खतराका चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ । चुरोटका लागि निर्देशिकामा विभिन्न पाँच वटा खतराका चित्र र सन्देशहरू राखिएको छ । यस्तै बिँडीको बट्टा, प्याकेट र र्यापर्समा पनि ८० प्रतिशत खतराका चित्र र २० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने व्यवस्था निर्देशिकामा छ ।
यसैगरी, खैनी, सुर्ती र गुट्खा जस्ता सुर्तीजन्य पदार्थको बट्टा प्याकेट र र्यापर्समा अगाडि र पछाडिको ६० प्रतिशत भागमा घातक चित्र र अगाडिको बाँकी रहेका ४० प्रतिशत भागमा २०र२० प्रतिशतका दुई वटा चेतावनीमूलक सन्देश र पछाडिको भागमा भने एउटा सन्देश २० प्रतिशत र अर्कोमा १० प्रतिशत हुने व्यवस्था छ ।
निर्देशिका अनुसार सुर्तीजन्य पदार्थको बट्टा र प्याकेट राख्ने पेटी, पार्सल र प्याकेजिङको सहायक माथिल्लो भागमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ’ भन्ने चेतावनीमूलक सन्देश, सहायक दायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धुम्रपानमा नाइट्रोसोमाईन र बेन्जोपाईरिन जस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन, धुम्रपान गर्न छोडौं’ भन्ने चेतावनीमूलक सन्देश र तल्लो दश प्रतिशत भागमा ब्राण्ड नाम उल्लेख गर्नु पर्ने छ ।

त्यस्तै सहायक बायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धुम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साईडले मुटु र फोक्सोको रोग लाग्छ धुम्रपान गर्न छोडौं’ भन्ने चेतनामूलक सन्देश र तल्लो दश प्रतिशत भागमा उत्पादकको नाम र ठेगाना छाप्नु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।
यसैगरी सन्देश र चित्र स्पष्ट देखिनेगरी प्याकेजिङ र लेबलिङ गर्नु पर्ने पनि भनिएको छ । उत्पादकले सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पर्स, पेटी, पार्सल र प्याकेजिङ्गमा छपाई गर्नुपर्ने चेतावनीमूलक सन्देश र चित्रहरुको अपभ्रंस नहुने, नबिग्रने र नछोपिने गरी सूर्तीजन्य पदार्थहरू प्याकेजिरू र लेबलिरू गर्नु पर्ने भनिएको छ ।
निर्देशिकाले सूर्तिजन्य पदार्थको प्रवद्र्धन हुनेगरी प्याकेजिङ वा लेबल गर्न निषेध गरेको छ । ‘उत्पादक लगायत कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुर्तिजन्य पदार्थको प्रवद्र्धन हुने गरी कुनै सन्देश, सामग्री, रंग, चित्र आदि राखेर प्याकेजिङ वा लेबल गर्न पाइनेछैन,’ निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाअनुसार उत्पादकले अबको ६ महिनाभित्र बजारमा रहेका ९० प्रतिशत चेतावनीयुक्त प्याकेट तथा प्याकेजहरु हटाइसक्नुपर्नेछ । यो निर्देशिका पारित भएको मितिले १८० दिनपछि लागु हुने निर्देशिकामा उल्लेख छ । नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सुर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।