काठमाडौं । काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच ४ बुँदे सहमति भएसँगै अभियान्ता ईःको आन्दोलन फिर्ता भएको छ । १ सय ९९ घण्टा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र महानगरबीच बुधबार बेलुकी सहमति भएको हो । सहमतिलगत्तै राति ९ बजेबाट ईःले आन्दोलन स्थगित गरेका छन् । सडक व्यापारी प्रतिनिधिको रोहवरमा महानगरका तर्फबाट कार्यपालिका सदस्य चिनकाजी महर्जन र प्रमुख बालेन्द्र शाहको सचिवालयका धिरज जोशी तथा अभियानकर्ता ईः ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
दुई पक्षबीच सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने सहमति भएको छ ।
अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव सहित अध्ययन गरि २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति समेत भएको छ ।
साविकमा फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले एक हप्ताभित्र पहल गर्ने समेत सहमति भएको छ ।