अभ्यास खेलमा अमेरिका ‘ए’सँग हार्यो नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु को तयारीमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका ए टिमसँग पराजित भएको छ । मंगलबार राति भएको पहिलो अभ्यास खेलमा नेपालले लज्जासपद ब्याटिङ गर्दा अमेरिका ए टिमसँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरका ए ले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि नितिश रेडीले सर्वाधिक २९ रन बनाए भने ओपनर राहुल जरिवालाले २६ रन योगदान गरे ।

नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए । रिजन ढकाल र ललित राजवंशीले समान एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरको खेलमा आधा इनिङ मात्र ब्याटिङ गर्न सक्यो भने सय रन पनि पुर्‍याउन सकेन । २५.३ ओभरमा नेपाल ८१ रनमै अलआउट भएको थियो । नेपालका कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अर्जुन साउद ५, अनिलकुमार साह ०, कुशल भुर्तेल २, रोहितकुमार पौडेल ८, दीपेन्द्रसिंह ऐरी ५, आरिफ शेख २ र सन्दीप लामिछाने ७ रन बनाएर आउट भए । करण केसी ७ रनमा अविजित रहे । अमेरिका ए का लागि आरिन नादकर्णीले चार तथा आयान देसाइले २ विकेट लिए ।

नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित लिग टु सिरिज यही अक्टोबर २५ देखि अमेरिकाको डालासमा सुरु हुँदैछ । जहाँ नेपालले पहिलो खेल अक्टोबर २७ अर्थात आउने आइतबार अमेरिकासँग खेल्नेछ । लिग टु मा नेपालले खेल्न लागेको यो तेस्रो सिरिज हो ।