अमेरिकाको एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री

भर्जिनिया

अमेरिकाको भर्जिनियास्थित फ्रेड्रिक्सबर्गमा गत जुन ५, २०२१ मा सम्पन्न एएयु भर्जिनिया स्टेट तेक्वाण्दो च्याम्पियनशिपमा नेपाली रेफ्री राजु नगरकोटीले अफिसियल निर्णायकको भुमिका निर्वाह गरेका छन् । सम्पूर्ण खेल अवधिभर प्रभावकारी कार्य गरेवापत रेफ्री नगरकोटीलाई टुर्नामेण्ट डाइरेक्टर मास्टर मार्क ग्रेनियरले विशेष सम्मान समेत गरेका छन् ।

राजु नगरकोटी नेपाली तेक्वान्दोको चर्चित नाम हो । सन् १९८९ देखि तेक्वान्दो खेलमा आफ्नो योगदान दिदै आएका नगरकोटीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरी राष्ट्रको नाम उच्च राख्न सफल भएका छन् । मास्टर नगरकोटीले सन् १९९१ देखि १९९८ सम्म नेपाल आर्मीको त्रिभुवन क्लवबाट आफ्नो तेक्वाण्दो खेललाई निरन्तरता दिएका थिए भने सन् २००३ देखि २००९ सम्म नेपालमा युनाइटेड तेक्वान्दो डोजाङको प्रशिक्षक भई दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी उत्पादन गराएका छन ।

त्यसैगरी देश बाहिर हङकंग, जापान, बेलायत, थाईल्याण्ड, मकाउ लगायतका देशहरुमा आफ्नो क्षमता साबित गराइ सकेका छन् । सन् २०११ देखि २०२० सम्म मकाउ नेप्लिज तेक्वान्दो एकेडेमीमा प्रशिक्षक भई काम गर्दा आफुले उत्पादन गरेका खेलाडीहरुले अन्तर्राष्ट्रिय पदक जित्दा सबैभन्दा खुसी लागेको बताउँछन् ।