अमेरिकाको भर्जिनियामा कार दुर्घटना, २ नेपालीको ज्यान गयो

तस्बिरः नेपालमदर डटकम

काठमाडौं । अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार २२ नोभेम्बर मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमले लेखेको छ । मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका ७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको नेपालमदरले पुष्टी गरेको छ।

कारचालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन्। कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको पनि नेपालमदरले उल्लेख गरेको छ। त्यहाँको प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ।

त्यस्तै कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको पनि नेपालमदरको समाचारमा उल्लेख छ। त्यहाँको प्रहरीसँग एनआरएनए भर्जिनियाका पदाधिकारीहरूले समन्वय गरिरहेको पनि बताइएको छ।