अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिकाले जितिन् ४ स्वर्ण

पोखरा । अमेरिकाबाट फर्किएर सिधै राष्ट्रिय खेलकुदमा होमिएकी गौरिका सिंहले स्वर्ण पदक संख्या चार पुर्याएकी छिन् । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा गौरिका सिंहले सोमबार थप दुई स्वर्ण जितेसँगै उनको स्वर्ण संख्या चार पुगेको हो । त्रिभुवन आर्मीकी गौरिकाले ५० मिटर ब्याकस्ट्रोमा स्वर्ण जितिन्। उनले ३०.८० सेकेन्डमा निर्धारित दूरी पौडिएर जारी स्पर्धामा तेस्रो स्वर्ण भित्र्याएकी हुन्।

यो स्पर्धामा एनआरएनएकी एस्ले सापकोटा डंगोलले ३१.११ सेकेन्डका साथ रजत र बागमतीकी रोशा न्यौपानेले ३४.२४ सेकेन्डका साथ कास्य जितिन्। गौरिकाले अर्को स्वर्ण आठ सय मिटर फ्रिस्टायल रिलेबाट जितिन्। गौरिका, उपत्सी महर्जन, अनुसिया महर्जन र डुवाना लामाको आर्मीले ९ मिनेट २७.७३ सेकेन्डका साथ स्वर्ण जिते। यो स्पर्धामा नेपाल पुलिसले रजत र लुम्बिनीले कास्य जित्यो। यससँगै गौरिकाले जारी प्रतियोगितामा स्वर्ण संख्या ४ पुर्‍याइन।

जारी पौडीमा आर्मीले १६ स्वर्ण जितिसकेको छ भने एनआरएनएले ६ स्वर्ण हात पारेको छ। यस्तै एपिएफले ३ स्वर्ण जित्दा पुलिस र प्रदेश एकले एक एक स्वर्ण जितेका छन्। जारी प्रतियोगिता गौरिकाले चार स्वर्ण जित्दा एनआरएनएकी एस्ले सापकोटा डंगोलले पाँच स्वर्ण जितिसकेकी छिन्। दुबै अमेरिकाबाट फर्किएका खेलाडी हुन् ।