एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण शुरु भएको छ । परीक्षणमा तीस हजार मानिसले सहभागिता जनाउँदैछन् । नेशलन इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउछ भन्ने निश्चित भने भैसकेको छैन ।
स्वयंसेवकलाई दुई डोज दिएपछि वैज्ञानिकले नजिकबाट अध्ययन गर्दै खोपले कुन समूहमा प्रभावकारी काम गर्यो भनेर पत्ता लगाउने बताइएको छ । अमेरिकाले बनाइरहेको खोपको यो अन्तिम चरणको परीक्षण हो । एक स्वयंसेवकलाई २८ दिनको अन्तरमा दुई मात्रा दिने तयारी छ ।
दुई मात्रा दिएपछि यसले कोरोनाबाट बचाउँछ कि बचाउँदैन भन्ने हेर्नका लागि खोपको परीक्षण गर्न लागिएको हो । यसले कति समयसम्म काम गर्छ भन्ने पनि परीक्षण गर्न लागिएको बताइएको छ ।
यसअघिका परीक्षणमा खोप सुरक्षित देखिएको थियो । नोभेम्बरसम्म यसको परिणाम आएमा आउँदो वर्ष २०२१ को शुरुवातमै यो खोप तयार हुने बताइएको छ ।