अमेरिकामा भीडमा गाडी कुदाएर भएको आक्रमणमा मारिने १५ पुगे

काठमाडौं । अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा गाडी घुसाएर गरिएको आक्रमणमा ज्यान जानेको संख्या १५ पुगेको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए । चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी प्रहरीका अनुसार तीव्र गतिमा ट्रक चलाएका चालकले जतिसक्दो धेरै मानिसको हत्या गर्ने प्रयास गरेका थिए ।

घटनाको अनुसन्धान गरिरहेको एफबीआईले मानव भिडमा ट्रक चलाउने चालक टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको बताएको छ । एफबीआईले ट्रकमा विद्रोही समूह इस्लामिक स्टेट, आईएसको झण्डा भेटिएकोले चालक आतङ्कवादी समूहसँग जोडिएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । चालकले अधिकारीहरुमाथि गोलीसमेत चलाएका थिए भने ट्रक भएको क्षेत्रमा विष्फोटक उपकरणसमेत भेटिएको थियो ।