काठमाडौं । लिओनल मेसीले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टर मियामीले क्वाटरफाइनलमा शनिवार बिहान चार्लोटो एफसीलाई ४–० ले हरायो । फाइनल प्रवेशका लागि इन्टर मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग खेल्नेछ ।
घरेलु मैदान डीआरभी पीएनके स्टेडियममा भएको खेलमा इन्टर मियामीलाई सहज जित दिलाउन मेसीसँगै जोसेफ मार्टेनिज र रोबर्ट टेललरले एक एक गोल गरे । एक गोल भने आत्मघाती भएको थियो । यसै सिजन अमेरिका पुगेका मेसीले लिग कपमा पाँच खेल खेल्दा ८ गोल गरिसकेका छन् र उनी सर्वाधिक गोलकर्तामा अघि छन् ।
मेसीले खेलेका पाँच वटै खेलमा गोल गरेका छन् । जोसेफ मार्टिनेजले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । टेलरलले ३२औं मिनेटमा गोल गरी पहिलो हाफमा अग्रता दोब्बर पारे । चार्लोटेका एडिलसन मालान्डाले आत्मघाती गोल गरेपछि इन्टर मियामीले ३० को अग्रता बनायो । त्यसको ८ मिनेटपछि मेसीले गोल गर्दै इन्टरको सहज जित पक्का गरे ।