अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाउने भन्दै मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले पोखरा घर भई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गमा डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो। उनलाई ब्युरोले आइतबार पक्राउ गरेको एसपी नरहरि रेग्मीले जानकारी दिए।

सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभलालच र भ्रममा पारेर अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनेर उनी लगायतले धेरै नेपालीहरूलाई अन्य देशमा पुर्‍याएर अलपत्र पारेका छन्,’ रेग्मीले भने, ‘बन्धक बनाएर यातना दिने र फिरौती समेत लिएको पायौं।’ कमल तामाङसहित केही व्यक्तिहरूले अमेरिका लैजाने भन्दै मानव बेचबिखन गरेको भन्‍दै ब्युरोमा चारवटा जाहेरी परेको छ।

उनले हवाईमार्ग मार्फत अमेरिका लैजाने प्रलोभन देखाएर जनही ११ लाख ३० हजारदेखि ६० लाख रूपैयाँसम्म लिएको एसपी रेग्मीले बताए। उनीहरूले कुल २ करोड २६ लाख २३ हजार ८९० रूपैयाँ लिएको आरोप छ। यसरी रकम लिएर पीडितहरूलाई अवैध बाटो भारतको नयाँ दिल्ली, श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस र जाम्बिया लगायत देशहरूमा पुर्‍याएर अलपत्र पारेको एसपी रेग्मीले बताए।

अलपत्र पारेर पीडितहरूसँग थप रकम माग गरेको समेत पाइएको छ। अमेरिका लैजाने भनेर ओसारपसार गर्नेमा पनि नेपालीहरू नै संलग्न रहेको एसपी रेग्मीले बताए। उनका अनुसार तामाङ लगायतको समूह नेपाल लगायत विभिन्न देशहरूमा बसेर आआफ्नो जिम्मेवारी बाँडफाँट गरी संगठित रूपमै परिचालित भएको छ।

विशेषगरी १६ देखि ५० वर्ष उमेर समूहका पुरूषहरू मानव बेचबिखनको जोखिममा छन्। यस्तै पीडितहरूले ठूलो रकम बुझाए पनि होटल खर्च, टिकट खर्च लगायत पनि आफैंलाई बेहोर्न लगाउने गरेको पनि देखिएको प्रहरीले जनाएको छ। उनीहरूले विशेष गरी भिजिट भिसाको दुरूपयोग गरी त्यहाँ पुर्‍याउने गरेका हुन्। ब्युरोले यस घटनामा थप व्यक्तिहरूको समेत संलग्नता रहेको भन्दै उनीहरूको खोजी गरिरहेको छ। पक्राउ परेका तामाङमाथि भने थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएको ब्युरोले जनाएको छ।