अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ

काठमाडौं । गैरकानुनी माध्यमबाट अमेरिका पठाउने भन्दै विदेशका विभिन्न स्थानमा पुर्‍याएर अलपत्र पार्ने समूहका नाइके नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतम पक्राउ परेका छन् । रुकुमपूर्व सिस्ने गाउँपालिका घर भई अमेरिकी नागरिक बनेका गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारत हुँदै नेपाल प्रवेश गर्ने नाका रुपन्देहीको बेलहियाबाट बुधबार पक्राउ गरेको हो।

ब्युरो प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार हालसम्म पक्राउ परेका छ जनाले पाँच वटा उजुरी ब्युरोमा दिएको आधारमा गौतमलाई नेपाल प्रवेश गर्नेबित्तिकै पक्राउ गरिएको हो। गौतमलाई पक्राउ गरेको जानकारी ब्युरोले प्रहरी प्रधान कार्यालय हुँदै नेपालस्थित अमेरिकी दूतावासलाई समेत दिएको छ । विभिन्न एजेन्टमार्फत अमेरिका पुर्‍याउने सपना देखाएर गौतमले ठुलो रकम असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


प्रहरीसँगको बयानमा गौतमले गैरकानुनी बाटोबाट झन्डै दुई सय जनालाई अमेरिका पुर्‍याएको स्वीकार गरेका छन्। विभिन्न देशमा पुर्‍याएर गौतमसहितको गिरोहले नेपाली युवाबाट ५० देखि ७० लाख रुपियाँसम्म असुली गर्ने र कतिपयलाई विदेशी मुलुकमा बन्धक बनाई यातना दिने गरेको भन्दै पीडितले ब्युरोमा उजुरी दिएका थिए।

ब्युरोले गत साउन ७ गते कास्कीका कमल तामाङसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। तामाङ नेपालमा बसेर रकम असुली गर्ने, कागजपत्र मिलाउने र विभिन्न देश पुर्‍याउन विमानको टिकट व्यवस्थापन गर्ने मुख्य एजेन्ट रहेको ब्युरोले जनाएको छ।

पक्राउ परेका गौतमले भने मेक्सिकोलाई आधार बनाएर असुली गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। यो गिरोहले नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा दुबई, थाइल्यान्ड, फिलिपिन्स, जाम्बिया, सिङ्गापुर, हङकङलगायतका देशमा लगेर राहदानी र मोबाइल जफत गरी ठुलो रकम असुली गर्ने गरेको पीडितहरूको उजुरीमा उल्लेख छ।

शारीरिक रूपमा अपाङ्गता भएर ह्विलचेयरको सहारामा हिँडडुल गर्ने गौतम सन् २००५ मा अमेरिका पुगेको खुलेको छ। उनले सन् २००८ मा अमेरिकी नागरिकता प्राप्त गरेको र सन् २०१५ मा अमेरिकी पासपोर्ट लिएको खुलेको छ।