काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ। ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो। अनुवादक विप्लव प्रतीक र लेखक–अनुवादक सगुना शाह तथा वी रिडकी सिइओ सुनीति अमात्यले सो पुस्तकको विमोचन गरेका छन् । विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेका थिए ।
कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र सङ्घर्षमा कमला सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने खालको छ,’’ उनले भने ।
रङ्गभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानकाक्रममा उनीहरूको परिस्थितबारे हृयारिसले गरेको अनुभव आफूलाई मन परेको शाहले बताए । आप्रवासी आन्दोलनदेखि समलिङ्गी, तेस्रोलिंगी, आर्थिक व्यवस्थालगायतका विषय पनि महत्त्वका साथ आएको उनको भनाइ थियो।
एक अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति ह्यारिसलाई नजिकबाट चिनाउने पुस्तक हो यो। जनताको न्यायका लागि लडिरहेका उनका प्रारम्भिक दिन अनि राजनीतिमा उनको प्रवेश र यसभित्रका सङ्घर्षलाई पुस्तकले बयान गरेको छ।
जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी ह्यारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका सङ्घर्षका प्रेरणादायी गाथा यसमा समेटिएको छ। ह्यारिसको बुबाआमाबीच पारपाचुके भएपछि आमा श्यामलाले कसरी आफ्ना दुई छोरीलाई हुर्काइन्, दीक्षित गरिन् र सत्यको जगमा उभिएर दुनियाँ देखाउने मार्ग रोजिन् भन्ने कुरा पुस्तकमा भेटिन्छ।