आरएल श्रमजीवी
२० असार । कुरा त लामै छन्, तर छोटोमा निजात्मक लेख्दै छु । लेखेरै नसकिने भोगाइमध्येको आफू छ वर्षअघि अमेरिकमा ढलेको घटनाबाट शुरु गरें । अमेरिकाको क्यालिफोर्नियास्थित काम गर्ने नान क्याफेमा काम गर्दागर्दै एक्कासि नाथ्री फुट्यो । नाकबाट ह्वालह्वाल्ती रगत बगेपछि मलाई रेस्टुरेन्टका साहु कट्टेलले उत्तानो पारेर सुताउनु भो । नाकमा कपास राखे पनि रगत रोकिएन । दश मिनेटपछि रगत रोकियो र मलाई गाडीबाट कोठामा लगियो । त्यो दिन बेडरेस्ट गरें । खोकी चाहिँ मलाई बोस्टन हुँदा २०१९ को अक्टोबरदेखि नै लागिरहेको थियो । नाथ्री फुटेपछि खोकी झन् बढ्यो । छाती दुख्न थाल्यो ।
काम गर्दा पनि खोकी लागेपछि उनै कट्टेलले फार्मेसीबाट खोकीको औषधि ल्याएका थिए । औषधि खाएको दुई घण्टासम्म खोकी हराउँथ्यो फेरि लागिहाल्थ्यो । दबाइमुलो गर्दागर्दै दुई महिना बित्यो । उपचारमा चार सयदेखि पाँच सय डलर खर्च गर्दा पनि खोकी निको भएन । गोडा सुन्निन थाल्यो । हिंड्दा स्वाँस्वाँ हुन थाल्यो । बस्दै उठ्दै बिस्तार घिच्चिदै काममा जान थाले । यति कि फराकिलो सडक पनि एकै झमटमा फटाफट पार गर्न आँट आउन छाडेको थियो । अब यो तरिकाले भएन भन्दै मैले न्यूयोर्क जाने निर्णय गरें ।
वकिल खगेन्द्र जिसीकोमा २०२० फेबु्रअरी २१ को डेट थियो । म १९ को राति टिकट काटेर उडें । जहाजभरि खोकी लाग्थ्यो, तर स्टे«प्सिल मुखमा राखेर रोक्ने कोसिस गर्थें । सकी–नसकी बिहानै मामाघर सनिसाइड पुगें । खोकी निरन्तर थियो माइजुले बेसार पानी बनाएर दिनु भो । राति अदुवा मुखमा राखे । जीरा पानी खाँदा पनि खोकी रोकिएन । भोलिपल्ट वकिलकोमा पुगें, मागेका कागजपत्र जम्मा गराएर ग्रीनकार्डको सपना पाल्दै म म्यानह्याटनबाट फर्किएँ ।
म्यानह्याटनबाट ज्याक्सन हाइट्स जाने रेल समातें । बस्ने सिट थिएन डन्डी (खाबो)मा समाएर उभिएँ । कमजोरीले ढल्ला जस्तो भयो । धन्न अर्को स्टेसनमा खाली सिट भेटें । मनमा हजारौं कुरा खेल्थ्यो; गाउँका साँघुरा गोरेटो छिचोल्दै फराकिला राजमार्गमा आफ्नै गाडीमा हुइँकिएको मान्छे म के नपुगेर यता भासिएँ होला ? युरोपका एक दर्जन देशका गल्लीहरु यी पैतालाले नाप्यो । यतिबेला अवैध मान्छे बनें । के मान्छे पनि वैध र अवैध हुन्छ र ? आफैंले आफैंसँग गरेको प्रश्नको उत्तर म स्वयम् थिएँ । वास्तवमा जति नराम्रो हुनीहुनामी नेपालमै भएको थियो । मसँग एउटा नाम थियो ।
नामसँगै अरुले देख्दा मेरो सान जस्तो थियो, तर म भित्रभित्रै यति मक्किएको थिएँ कि धमिराले खाएको खाबोझैं । जति संघर्ष गरें, त्यो मेरा लागि ठाउँ थिएन वा भएन ? म आफैंलाई भत्काउँदै १२ वर्ष अघि बादलभित्र हराएको चरोझैं युरोप छिरेको थिएँ । एक्लो जीवन, एक्लोपन र आफैंलाई व्यस्त बनाउँदै अनेकौं उत्तरचढावका बीच मैले युरोपियन कार्ड हात पारेको थिएँ । त्यो कार्ड हुँदाहुँदै किन ग्रीनकार्डको यत्रो मोह ? यस्तै कुरा सोच्दासोच्दै सन्नीसाइड भन्ने म ओर्लने ठाउँ आयो ।
म बिस्तारै रेल स्टेसनको तलाबाट ओर्लिएर मामाघर पुगें । खोकी रोकिने छाँट देखिन । औषधि होस् वा माइजूले बनाएको परम्परागत घरेलु दबाइले नछोएपछि मैले युरोप फर्किने टिकट काटें । फेब्रुअरी २८ राति ८ बजेको फ्लाइट थियो । युरोपको इटालीमा कोरोनाले भकाभक मान्छे मरिरहेका र न्यूयोर्कका अस्पतालहरुमा कोरोनाका बिरामीले बेड नपाएका खबर सीएनएनले भनिरहेका बेला मामाले भन्नु भो– तपाईं युरोप जानै पर्ने हो र ? मैले भनें ‘हो मामा । म जान्छु । यहाँको उपचार मेरा लागि महँगो भो । युरोपमै सजिलो हुन्छ होला । मैले त आजको टिकट लिइसकेको छु’ भन्दै टिकट देखाइदिएँ ।
ए, आजै रातिको पो रेछ । एक बज्यो तयार हुनुपर्छ होला नि । यी किताबहरु त्यो जुत्ता केही लान्न म रोग निको पारेर फर्किन्छु मामा । लुगा पनि दुई जोर भए पुग्छ भनेर कालो ह्याण्ड ब्यागभित्र सामान हालें । ‘म एयरपोर्टसम्म पु¥याउला तपाईंको त्यस्तो हालत देख्दा कसरी जानु होला‘ भन्नु भो । हामी ४ः३० बजे घरबाट निस्कियौं । चिसो हावा चलिरहेको थियो । मान्छे नै उडाउला जस्तो । रेल स्टेसनको दूरी मात्र ५ मिनेटको थियो, तर म हिंड्न सकिन । मामाले टिकट क्यान्सिल गरौं कि भन्नु भो । मैले क्यान्सिल हुने टिकट होइन मामा म जान्छु भन्दै थिएँ । मामाले भाइ विजयलाई फोन लगाउनु भो । दाइ ! हिंड्न नसकी पनि जाने भन्नुहुन्छ के गर्ने होला विजय ? काम गरेको ठामबाट विजयले मामालाई मलाई फोन दिन भनेछन् । दाइ ! नजानु बरु ड्याडीसँगै हस्पिटल जानु ।
बाबु म हिंडिसके अब जान्छु भनेर कुरा गर्दै ५ मिनेटको दूरीको बाटो २१ मिनेट लागेछ । रेल आयो हामी रेल चढेको कुरा भाइलाई भनेर फोन मामालाई दिएँ । रेल भरिभराउ थियो । खुट्टाले भुइँ भेट्यो हामी मामा भानिज टाँसिएर उभियौं । मामाले मलाई हेर्नु भो मैले मामालाई । मानौं यही नै अन्तिम भेट हो भने जसरी हामी आँखा–आँखाले कुरा गरिरहेका थियौं । अनायास मोतीदाना तप्पतप्प झरे । मास्क नलगाएको भए त्यो नुनिलो आँशु मेरो खोकीको औषधि हुन्थ्यो कि ?
मामाले मेरो टाउको समाउँदै टोपी मिलाइदिनु भो । सम्झिएँ, कि आमा कि मामा भनेको यही होला । रेलभरि हामी बोलेनांै खोकी लाग्दा म निहुरिएर खोक्थे धेरैले मास्क लगाएका थिएनन् । कोरोना महामारीको खबर उनीहरुलाई पत्तो छैन जस्तो लाग्थ्यो । रेलको अन्तिम गन्तव्य एयरपोर्टको एयर टर्न हो भनेर सूचित गर्दै थियो । सबै ओर्लने तयारीमा ठेलमठेल गर्दै थिए ।
हामी ढोका छेउमै थियौं, अन्तिम स्टेसनमा ढोका खोल्नासाथ हामी ओर्लियौं । भिड कुम्भमेला जस्तै थियो भिड छलेर हामी एउटा कुनामा गयौं । मैले– मामा स्टेशन बाहिर नजानुस् फेरि किन टिकट काट्नु । म बाहिर गएर एयर ट्रेन समातेर टर्मिनल ८ मा ओर्लिन्छु भनें । मामा बोल्न सक्नु भएन । हामी दुबैले मास्कले मुख छोपेका थियौं भक्कानिन सजिलो भयो । म बाइबाइ भनेर हात हल्लाउँदै अगाडि बढें । मामा उभिएर मलाई हेरिरहनु भएको थियो । अलि वर आएर हेर्दा मामाको टाउको मात्रै देखिन्थ्यो ।
हाल : लण्डन, बेलायत