अलजजिरालाई इजरायलमा किन लगाइयो प्रतिवन्ध ?

काठमाडौं । इजरायलको सरकारले समाचार संस्था अलजजिरालाई प्रतिबन्ध लगाएको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले आइतबार कतारद्वारा सञ्चालित अलजजिरालाई बन्द गर्ने निर्णय गरेको बताएका हुन् । ‘इजरायलमा अलजजिरालाई बन्द गरिने सर्वसम्मतिले निर्णय गरिएको छ,’ उनले सामाजिक एक्समा उल्लेख गरेका छन् ।

इजरायलका सञ्चारमन्त्री स्लोमो कारहीले विज्ञप्तिमा इजरायलमा हमास पक्षधरहरूलाई वाक् स्वतन्त्रता नहुने बताए । ‘अलजजिरालाई तुरुन्त बन्द गरिनेछ र उपकरणहरू जफत गरिनेछन्,’ विज्ञप्तिमा भनिएको छ । सम्पादन र राउटिङ उपकरण, क्यामेरा, माइक्रोफोन, सर्भर र ल्यापटपका साथ वायरलेस ट्रान्समिसन उपकरण र केही सेलफोन जफत गर्न उनले आदेश जारी गरेका हुन् ।

इजरायल र प्यालेस्टिनी क्षेत्रमा अलजजिराको कार्यालय प्रमुख रहेका वालिद अल–ओमारीले उक्त निर्णयमाथि प्रतिक्रिया दिँदै इजरायलका चरम दक्षिणपन्थी मन्त्रीको सहज जितको खोजीको एउटा अभियान रहेको बताए ।