सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नदीको जलाधार क्षेत्रमा भारी वर्षा भएसँगै मेलम्ची नदीमा बाढीको जोखिम बढेको छ । बाढी पूर्वानुमा महाशाखाका अनुसार गुम्थाङ, धाप, नकोटेलगायत स्थानमा शनिबार भारी वर्षा मापन भएको छ। मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझ भन्दा १.५ मिटरले बढेको छ । महाशाखाले मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको उल्लेख गरेको छ ।
उता झापाको शनिश्चरे, चन्द्रगढीलगायत क्षेत्रमा पनि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार इलाम र झापाको सीमा आसपास केही स्थानमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको छ। मेची, विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम बढेका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।